कर्णालीबाट काठमाडौं बोलाइएका नेताहरूलाई दाहालले भने- ‘सबै प्रदेश सरकारमा समस्या छ, एकैपटक सुल्झाउँछौं’
कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्तावको नेतृत्व गरेका यामलाल कँडेलसहितका नेताहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका छन्।
अविश्वास प्रस्तावपछि अध्यक्षद्वय केपी शर्मा ओली र दाहालले बोलाएपछि बिहीबार काठमाडौं आइपुगेको कँडेल समूहले शुक्रबार बिहान दाहाललाई भेटेको हो। भेटमा नेकपा कर्णाली प्रदेश कमिटी सचिव मायाप्रसाद शर्मा र मुख्यमन्त्री शाहीले प्रमुख सचेतकबाट हटाएका गुलाबजंग शाह समेत सहभागी थिए।
भेटमा दाहालले कर्णालीमा मात्रै नभएर सबै प्रदेश सरकारमा समस्या भएको उल्लेख गर्दै एकैपकट सुल्झाउने बताए। आफू र अर्का अध्यक्ष ओली बसेर सबै समस्या समाधान गर्ने दाहालले बताएका भेटमा सहभागी नेता शर्मा बताए।
“हामीसँग (अध्यक्ष ओली र दाहाल) सल्लाह नगरेर अविश्वासको प्रस्ताव ल्याउँदा त्यसले आन्तरिक र बाह्य रूपमा मेसेज राम्रो गएन। साथीहरूले गल्ती गर्नुभो”, अध्यक्ष दाहालको भनाइ उदृत गर्दै नेता शर्माले भने, “कर्णाली प्रदेशमा मात्र होइन सबै प्रदेशमा समस्या छ। यसलाई हामी राष्ट्रिय रूपमै समाधान गर्छौं।”
त्यसअघि नेता कँडेलले आफूबाहेक १७ जना प्रदेश सभा सदस्यको सल्लाहमा नै अविश्वासको प्रस्ताव ल्याइएको बताए। उनले आफ्नो मात्र नभएर मुख्यमन्त्री शाहीसँग प्रदेश सभाका अधिकांश सदस्यको असतुष्टि रहेको बताए।
“उहाँले सरकार गठनदेखि नै काम गर्न सक्नुभएन। पार्टी र सरकारबीच समन्वय पटक्कै भएन। सरकारका कारण जनतामा पार्टी अलोकप्रिय हुँदै गएको छ”, दाहालसँगको भेटमा कँडेलले भने, “पार्टी जोगाउनका लागि पनि विकल्प दिनुस् भनेर उहाँकै (मुख्यमन्त्री शाही) रोहबरमा प्रमुख सचेतकलाई अविश्वासको प्रस्ताव बुझाएका हौँ। यो मेरो मात्र कुरा होइन।”
झण्डै ३ घण्टा लामो छलफलमा कँडेलले सरकार गठनदेखि हालसम्म भएका काम र असन्तुष्टिबारे दाहाललाई बताएका थिए। दाहालले यति धेरै असन्तुष्टिका बाबजुद आफूहरूसँग सल्लाह नै नगरेर अविश्वासको प्रस्ताव ल्याउनु राम्रो नभएको बताए।
“साथीहरूका यति धेरै असन्तुष्टि थिए भने एकपटक हामीसँग सल्लाह गरेको भए राम्रो हुन्थ्यो। एकैपटक अविश्वासको प्रस्ताव ल्याउँदा राम्रो मेसेज गएन”, भेटमा दाहालले भने।
यसअघि बिहीबार कर्णालीका मुख्यमन्त्री शाही र उनी पक्षीय नेताहरूले दाहाललाई भेटेका थिए।
आइतबार कँडेल नेतृत्वमा १८ सांसदले संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए। त्यसको भोलिपल्टै मुख्यमन्त्री शाहीले प्रमुख सचेतक शाहलाई हटाएर सीता नेपालीलाई नियुक्त गरेका थिए।
कँडेल नेतृत्वको बहुमत समस्यले मंगलबार संसदीय दलको बैठक बस्ने तय परेपनि माधव नेपाल समूह पछि हटेपछि बैठक बस्न सकेको थिएन। माधव नेपाल समूहका ७ जना सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए।
नेपाल र दाहाल समूहबीच नेपाल समूहलाई थप तीन मन्त्री र सचेतक दिने सहमति भएको थियो। सहमति अनुसार नेपाल समूहका कुर्मराज शाही सचेत नियुक्त भइसकेका छन्। तर, मन्त्रिपरिषद् पुनर्गठन नहुँदै ओली र दाहालले दुवै पक्षका नेतालाई काठमाडौं बोलाएका थिए।
शुक्रबार नै प्रधानमन्त्री ओलीले दुवै पक्षका नेतासँग बालुवाटारमा भेट्दैछन्।