तराईका जिल्लामा कतै भौतिक उपस्थितिमा सिकाइ र भर्चुअल कक्षा, कतै अलमल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोनाभाइरस संक्रमण महामारीका बेला शैक्षिक क्रियाकलाप सञ्चालन गर्न विभिन्न विकल्प समेटेर सिकाइ सहजीकरण निर्देशिका ल्याएपछि तराईका जिल्लाका केही स्थानीय तहले विद्यालय खोल्न थालेका छन्।
सर्लाहीका विभिन्न स्थानीय तहले प्रत्यक्ष रुपमा पठनपाठन अगाडि बढाउन निर्णय गरेर नै विद्यालय सञ्चालन गरेका छन्। कतिपय विद्यालयले भौतिक उपस्थितिमा सामान्य अवस्थामा जस्तै कक्षा सञ्चालन गरेका छन् भने कतिपय स्थानीय तहमा विद्यालयलाई सिकाइ केन्द्र मानेर फरक किसिमले सिकाइ प्रक्रिया अगाडि बढाइएको छ।
रौतहटको चन्द्रपुर, गौर, गरुडा र फतुवा विजयपुर नगरपालिकाले विद्यालयमा विद्यार्थी र शिक्षक संख्याका आधारमा दुई वा तीन सिफ्टमा विभाजन गरेर कक्षा सञ्चालन गरेका छन्। गएको साता चन्द्रपुर नगरपालिकामा शिक्षकमा कोरोना संक्रमण देखिएपछि विद्यालयहरु पुनः बन्द गरिएका थिए।
विद्यालयलाई सिकाइ केन्द्र मानेर विद्यार्थी बोलाई कक्षा सञ्चालन गर्ने रौतहटका चारमध्ये तीन नगरपालिका शहरी क्षेत्र हुन्।
जिल्ला प्रशासन कार्यालय रौतहटले गत साता कतिपय विद्यालयले स्कूल बसमा विद्यार्थी ल्याएर कक्षा सञ्चालन गरेको पाइएको भन्दै वैकल्पिक विधिबाट विद्यार्थी पढाउन सूचना जारी गरेको थियो।
देशमा पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै जाँदा कतिपय स्थानीय तह पर्ख र हेरको स्थितिमा छन्। रौतहटको गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवले दशैंसम्म हेरेर जिल्लामा कोरोनाको संक्रमणको अवस्था हेरेरपछि मात्र विद्यालय सञ्चालनको विषयमा निर्णय लिइने बताए।
विद्यालय सञ्चालन नभए पनि अधिकांश स्थानीय तहका शिक्षक दिनहुँ विद्यालय जाने गरेका छन्। विद्यालय पुगेर हाजिरी गर्ने र समस्या लिएर आउने विद्यार्थीको सिकाइलाई सहजीकरण गर्ने गरेको मौलापुर नगरपालिकाका एक शिक्षकले बताए।
रौतहट र बारामा टोल शिक्षा खासै प्रभावकारी देखिएको छैन। धेरैजसो विद्यालयले अनलाइन विधिबाट सिकाइ क्रियाकलाप अगाडि बढाएका छन्। गरुडामा रहेको नेपाल पुलिस स्कूलले गएको असारदेखि नै जूम एप मार्फत सिकाइ अगाडि बढाउँदै परीक्षा पनि अनलाइन मार्फत नै लिएको छ।
यद्यपि रेडियो र जूम मार्फत हुने सिकाइमा कक्षाको तुलनामा विद्यार्थी सहभागिता कम हुने गरेको पाइएको छ। अनलाइन शिक्षामा विद्यार्थीको पहुँच र आकर्षण दुवै कम देखिएको कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिलकुमार निधिले बताए।
कतिपय विद्यालयले स्थानीय तहको अनुमतिविना नै माथिल्लो कक्षाका विद्यार्थीलाई बोलाएर अनौपचारिक कक्षा सञ्चालन गरेको पाइएको छ।
औपचारिक र अनौपचारिक रुपमा सञ्चालनमा रहेका सबै विद्यालय तथा क्याम्पसहरु बडादशैंमा घटस्थापनादेखि पूर्णिमासम्म बन्द हुँदैछन्।