झापामा सशस्त्र प्रहरीका एघार बीओपी स्थापना, सात वटा थपिंदै
भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले ११ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको जनाएको छ। मेचीनगर–१५ स्थित ज्यामिरगढीमा ११औं बीओपीको बुधबार उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बलका प्रदेश नम्बर १ प्रमुख वंशीधर दाहालले सीमाको सुरक्षालाई कसिलो र अपराध नियन्त्रण गर्न हरेक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापनाको लक्ष्य रहेको बताए।
दाहालले झापामा अरु सात वटा बिओपी छिटै स्थापना गरिने जानकारी दिंदै मानव बेचबिखन, लागुऔषधको कारोवार, तस्करीलगायत अपराध रोक्न सीमाका बीओपीमा तैनाथ सुरक्षाकर्मीलाई निर्देशन दिए। झापामा १४४.२ किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमाक्षेत्र छ।
सरकारले छोटी भन्सार तोकेका स्थानमा अनिवार्य रूपमा बीओपी स्थापना भइरहेका छन्। बीओपीका लागि स्थानीय तहले दाताबाट प्राप्त वा खाली रहेको सरकारी जग्गा उपलब्ध गराउँदै आएका छन्।
मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले सशस्त्र प्रहरीको बीओपीका लागि स्थानीय सरकारले आवश्यकता हेरेर सहयोग गर्ने बताए। भारतको पश्चिम बङ्गालसँग सीमा जोडिएको मेचीनगरमा काँकडभिट्टा, बाहुनडाँगी र ज्यामिरगढी गरी तीन वटा बीओपी स्थापना भइसकेका छन् भने अझै एउटा नकलबन्दा छोटी भन्सार क्षेत्रमा स्थापनाको तयारी भइरहेको छ।
सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले सीमाको अभिलेख दुरुस्त राख्ने र सीमापार अपराध नियन्त्रण गर्ने बीओपीको लक्ष्य भएको बताए।