बुटवलमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए।
कोरोना संक्रमण भएर २१ असोजदेखि अस्पतालमा भर्ना भएका उनको २५ गतेदेखि आईसीयू (सघन उपचार कक्ष) मा राखेर भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो। उपचारका क्रममा उनको बिहान मृत्यु भएको डा. थापाले बताए।
योसँगै कोरोना संक्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको संख्या ४६ पुगेको छ।
डा. थापाका अनुसार, उक्त अस्पतालमा तीन जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ।