महिलालाई जुत्तासँग तुलना गरिएको ‘खुट्टा भए जुत्ता’ गीत विवादमा, भिडिओ यूट्यूबबाट हटाउन माग
‘मैले पनि रोज्न सक्छु हजारौं हजारमा
खुट्टा भए जुत्ता छानी छानी पाइन्छ, यो बजारमा’
२ अक्टोबर (१६ असोज) मा संगीतकर्मी रमेशराज भट्टराईको यूट्युब च्यानलमा अपलोड गरिएको ‘खुट्टा भए जुत्ता’ (चाइल्ड भर्सन) बोलको गीतको शब्द हो यो।
महिलालाई होच्याउन प्रचलित ‘खुट्टा भए जुत्ता कति कति’ उखानमा आधारित भएर बनाइएको गीत भट्टराईले गत वर्ष आफ्नै शब्द, संगीत र स्वरमा यूट्यूबमा राखेका थिए। यसपटक भने उनले 'चाइल्ड भर्सन' मा आफ्नो छोरा उत्सर्ग भट्टराईको स्वरमा तयार पारेर भिडिओ सार्वजनिक गरेका हुन्।
महिलालाई होच्याउने शब्द प्रयोग गरेर बनाइएको गीत र भिडिओमा देखाइएको दृश्यप्रति अधिकारकर्मीहरुले आपत्ति प्रकट गरेका छन्। उक्त गीत यूट्यूबबाट तत्काल हटाउनुपर्ने पनि उनीहरूले माग गरेका छन्।
करीब चार मिनेटको गीत श्रीमान्–श्रीमतीको सम्बन्धमा आधारित छ। अभिनय गर्ने बालक गायक स्वयं हुन् भने बालिका आयुषी ढकाल हुन्। गीतको अन्तिमतिर श्रीमतीले गल्ती गरेको र श्रीमान्ले आफ्नो खुट्टा देखाउँदै ‘खुट्टा भए जुत्ता छानीछानी पाइन्छ यो बजारमा’ भन्छन्। त्यसपछि श्रीमतीको अभिनयमा रहेकी बालिकाले श्रीमानप्रति फर्किएर कान समातेर माफी माग्दै उठबस गरेको दृश्य भिडिओमा छ।
यस्तो गीत बनाउँदा, गाउन लगाउँदा र भिडिओमा समेत त्यस्तै अभिनय गराउँँदा ती बालक र बालिका तथा गीत हेर्नेहरुमा नकारात्मक असर गर्ने भएकाले गीत यूट्युबबाटै हटाउनुपर्ने अधिकारकर्मी वन्दना राणाले बताइन्। “सबै खाले हिंसा अन्त्य गर्न सानैदेखि बच्चाको हुर्काइमै समानता हुनुपर्छ भनिरहेका छौं, तर यस्तो शब्दमा उनीहरुलाई नै अभिनय समेत गराउन लगाउनु ठूलो गल्ती हो”, उनले भनिन्।
संयुक्त राष्ट्र संघको सिड कमिटीकी उपाध्यक्ष समेत रहेकी राणाले गीतका प्रयोग गरिएका शब्दहरूले महिलालाई होच्याएको र छोरालाई नकारात्मक पुरुषत्व सिकाइएकाले गलत रहेको टिप्पणी गरिन्। यस्ता गीत–संगीतको नियमन गर्ने सरकारी संयन्त्र बनाउनुपर्ने पनि उनको भनाइ छ।
राष्ट्रियसभाकी सांसद डा. विमला राई पौड्यालले पनि गीतका शब्द र भिडिओका दृश्य आपत्तिजनक रहेको बताइन्। बच्चाहरुलाई कस्तो कुरा सिकाइँदैछ भनेर चिन्ता गर्नुपर्ने अवस्था रहेको भन्दै उनले यस्ता गीत र भिडिओलाई यूट्युबमा रिपोर्ट गर्नुपर्ने बताइन्। उनले भनिन्, “यो गीतको भिडिओलाई मैले चाइल्ड अब्युज र महिलालाई घृणा गर्ने अभिव्यक्ति भनेर रिपोर्ट गरें, यस्तो कामलाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ।”
बालअधिकारकर्मी तारक धितालले वयस्कको स्वार्थ र मनोरञ्जनका लागि साना बालबालिकालाई दुरुपयोग गरिएको प्रतिक्रिया दिए।
सामाजिक सञ्जालमा पनि विरोध
सामाजिक सञ्जालमा पनि गीतका शब्द र भिडिओमा गराइएको अभिनयप्रति आलोचना गर्दै विरोध गरिएका छन्। अधिकारकर्मी टीका दाहालले गीतले मनोरञ्जन र सकारात्मक सन्देश दिनुपर्नेमा नकारात्मक शब्दको प्रयोग र गलत दृश्य देखाइएको भन्दै बन्द गर्न माग गरेकी छिन्।
यो गीत तयार पार्ने गीतकार र संगीतकार रमेशराजले तीन दिन अघि गीत शेयर गर्दै ‘१० दिनमा १० लाख पटक हेरिएको गीत’ भन्दै स्टाटस लेखेका छन्। जसमा टिप्पणी लेख्दै कतिपयले गीतको शब्दमा आपत्ति जनाएका छन्। नीलम ढुंगानाले जुत्ता र मान्छे एउटै हुन् भन्ने सोचाइ गलत भएको बताउँदै प्रतिक्रिया लेखेकी छिन्, ‘यस्तो कुरा बच्चाको मस्तिष्कमा सानै उमेरदेखि बीजारोपण गरेपछि युवा अवस्थामा यो सोचले कस्तो रुप लिन सक्ला ? एउटी छोरीको आमा हुँ, मलाई चित्तै बुझेन।’
यस्तै, अर्को कमेन्टमा दिनेश पाण्डेले शब्द र अभिनयका दृश्य नकारात्मक भएको र यसले बच्चाको दिमागमा नराम्रो असर पर्ने लेखेका छन्।
शुक्रबारसम्म करीब १२ लाखले हेरेको गीतमा दुई हजार भन्दा बढीले ‘डिसलाइक’ पनि गरेका छन्। भिडिओमा कमेन्ट बक्स भने बन्द गरिएको छ।
गीतकार भन्छन्– ‘आपत्ति जनाउनुपर्ने ठाउँ छैन’
गीतको बारेमा गीतकार तथा संगीतकार भट्टराईले आफूले सधैं नेपालीपन झल्किने शब्दहरुको प्रयोग गर्ने र यो गीतमा पनि चलिआएको उखान टुक्का प्रयोग गरेको बताए।
उनले भने, “यसमा आपत्ति जनाउनुपर्ने जस्तो लाग्दैन, यो श्रीमान् र श्रीमतीबीचको कहानी हो। मैले गाएको ओरिजिनल गीतको अन्तिममा श्रीमान्–श्रीमतीले एकअर्कालाई बढीभन्दा बढी समय दिनुपर्छ भनेर बोलेरै सन्देश दिएको छु।”
यस्तो आलोचना आउला भन्ने लागेको तर मनसाय गलत नभएकाले सकारात्मक रुपमा बुझिदिन पनि उनले आग्रह गरेका छन्।