कोरोना संक्रमणले बढाउँदैछ भोकको ‘महामारी’ (तस्वीरहरू)
खाद्यान्नविना मानव जीवन सम्भव छैन। भोजनकै आवश्यकताका कारण विश्व इतिहासमा सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनको बीजारोपण भएको मानिन्छ।
खाद्य तथा पोषणको महत्वबारे जागरुकता बढाउन र ध्यान केन्द्रित गर्न विश्वभरि नै १६ अक्टोबरलाई विश्व खाद्य दिवसका रूपमा मनाइन्छ। खाद्यान्नको उपलब्धता, भौतिक र आर्थिक पहुँच, पर्याप्त खाद्यको उपयोग तथा निरन्तरता भएमा मात्रै खाद्य अधिकार सुरक्षित भएको मानिन्छ।
गरीबीका कारण नेपालमा अझै ठूलो समुदाय खाद्य सुरक्षाको अधिकारबाट वञ्चित रहेको मानिन्छ। विश्व भोकमरी सूचकांक २०२० का अनुसार, १०७ देशमध्ये भोकमरी सूचकांकमा नेपाल ७३औं स्थानमा छ। भोकमरीको जोखिमका हिसाबले नेपाल मध्यम जोखिममा पर्छ। कुल जनसंख्याको करीब १७ प्रतिशत गरीबीको रेखामुनि रहेका कारण पनि ती मानिसहरूले आवश्यक न्यूनतम आहारभन्दा कम उपभोग गरिरहेको अनुमान गर्न सकिन्छ।
कोभिड-१९ महामारीका कारण त खाद्य सुरक्षामा थप गम्भीर प्रश्न उठेका छन्। महामारीका कारण मानिसहरूको श्रम आय खस्किएको र गरीबी बढेको कारण मानिसहरूको खाद्य पहुँच घटाएको छ। खाद्य पहुँचको सुधारका लागि उत्पादन वृद्धिमा जोड दिने, मानिसहरूको आर्थिक सामर्थ्य बढाउने र खाद्यवस्तुको मूल्यलाई नियमन गर्ने लगायतका उपायहरू आवश्यक पर्छन्।