निर्मला पन्त हत्या घटना: सफाइ पाएका प्रहरीको निलम्बन फुकुवा
निर्मला पन्तको हत्या अनुसन्धानमा खटिएका प्रहरीमाथि चलाइएको मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट सफाइ पाएका प्रहरी कर्मचारीको निलम्बन फुकुवा भएको छ।
निलम्बन फुकुवा भएपछि प्रहरी कर्मचारी काममा फर्केका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका तत्कालिन डिएसपी अंगुर जिसीले गृहमन्त्रालयबाट निलम्बन फुकुवाको पत्र प्राप्त भएको जानकारी दिए। उक्त घटनाको अनुसन्धानको क्रममा खटिएका जिसीमाथि पनि प्रमाण नष्ट र यातना दिएको अभियोगमा मुद्दा चलाइएको थियो।
त्यसैगरी प्रहरी जवान चाँदनी साउद निलम्बन फुकुवा भएपछि काममा फर्केकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर दरबन्दी भएकी उनी काजमा जिल्ला प्रहरी कार्यालय बझाङ्ग गएकी छन्। त्यसैगरी दुई महीनापछि अवकास हुन लागेका रामसिंह धामी पनि काममा फर्केका छन्। निलम्बनकै समयमा अवकास पाएका डीएसपी ज्ञानबहादुर सेठी र प्रहरी निरिक्षक एकेन्द्र खड्काले पनि पेन्सन पट्टा बनाएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालिन एसपी दिल्लीराज विष्ट र प्रहरी निरिक्षक जगदिश भट्टको विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन। सेवाबाट बर्खास्त गरिएकाले उनीहरूले पुनरावलोकनका लागि मन्त्रीपरिषद कार्यालयमा निवेदन दिएका थिए। अहिलेसम्म मन्त्रीपरिषदले कुनै निर्णय गरेको छैन।
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि भएको हत्यायाको अनुसन्धानमा खटिएका ९ जना प्रहरी कर्मचारीमाथि लगाइएको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले १५ साउन २०७७ मा सफाइ दिएको थियो। सफाइ पाएपनि प्रहरी नियमावली २०७१ मा भएको व्यवस्थाका कारण उनीहरूको निलम्बन फुकुवा हुन सकेको थिएन। ८ असोजको मन्त्रीपरिषद वैठकले नियमावलीमा परिवर्तन गरेपछि उनीहरू माथिको निलम्बन फुकुवा भएको हो।