अस्पताल पुग्न नपाएरै ज्यान गुमाइरहेछन् कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २९ असोजसम्मको तथ्यांक अनुसार मुलुकभर कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७४९ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयको बिहीवारसम्मको तथ्यांक अनुसार मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ भने कोरोनाका कारण ६९४ जनाले ज्यान गुमाइसकेका छन्। कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १९ जनाले ज्यान गुमाएका छन्।
मुलुकमा पछिल्ला दिनहरूमा कोरोना संक्रमितहरूको संख्या तीब्र गतिमा बढेसँगै संक्रमितहरूको उपचार हुने अस्पताल भरिएका छन्।अहिले कोरोनाका सिकिस्त बिरामीले समेत अस्पतालमा वेड नपाएर उपचारको अभावमा ज्यान गुमाइरहेका छन्। सिकिस्त बिरामीका लागि चाहिने, अक्सिजन, आईसीयू वेड र भेन्टिलेटरको अभावमा उनीहरूले राम्रो उपचार नपाएकै कारण ज्यान गुमाइरहेका छन्।
अहिले अस्पताल भरिएपछि संस्थागतभन्दा घरमै आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढेको छ। मन्त्रालयको बिहीवारसम्मको तथ्यांक अनुसार २४ हजार १९४ कोरोना संक्रमित घरमै बसिरहेका छन्। घरमै आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितको राम्रो हेरचाह र उपचार नपाएका कारण कोरोनाको सिकार बन्न थालेका छन्।
अहिले अस्पताल भरिएपछि संस्थागतभन्दा घरमै आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढेको छ। मन्त्रालयको बिहीवारसम्मको तथ्यांक अनुसार २४ हजार १९४ कोरोना संक्रमित घरमै बसिरहेका छन्।
स्वास्थ्य मन्त्रालयको बुधबारसम्मको तथ्यांक हेर्ने हो भने कोरोनाका कारण ४२ संक्रमितको अस्पताल नपुग्दै बाटो र घरमै ज्यान गएको छ। नेपालमा पहिलोपटक १९ जेठमा दैलेखको दुल्लुका ३५ वर्षीय एक पुरुषको कोरोनाका कारण स्वास्थ्य उपचार नपाई घरमै मृत्यु भयो। उनी कोरोनाको कारण ज्यान गुमाउने आठौँ व्यक्ति थिए।
जेठ महीनामा मात्रै उनीसहित ५८ वर्षभन्दा मुनिका पाँच जना पुरुषले कोरोना संक्रमणका कारण अस्पताल नपुग्दै बाटो र घरमै रहेका बेला ज्यान गुमाए। ज्यान गुमाउने उनीहरू डोल्पा, सुर्खेत, अर्घाखाँची र पर्सा जिल्लाका कोरोना संक्रमित थिए। यी जिल्लाहरूमा अक्सिजन, आईसीयू र भेन्टिलेटरसहितको राम्रो उपचारको व्यवस्था छैन।
५ असारमा गुल्मीको छत्रकोटका एक ६९ वर्षीय पुरुषको कोरोनाका कारण घरमै ज्यान गयो। असारमा उनीसहित दुई जनाको कोरोनाका कारण अस्पताल पुग्न नपाई घरमै ज्यान गएको थियो। कोरोनाका कारण दाङकी एक महिलाले पनि ज्यान गुमाइन्।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कोरोनाका कारण ९ साउनमा बझाङको बुङ्गल गाउँपालिकाका दम रोग लागेका ६५ वर्षीय पुरुषको घरमै ज्यान गयो। साउन महीनामा मात्रै उनीसहित आठ जना व्यक्तिको कोरोनाका कारण अस्पताल नपुग्दै बाटो र घरमा ज्यान गएको थियो। उनीहरू धनुषा, पर्सा र सप्तरी जिल्लाका कोरोना संक्रमित थिए।
२ भदौमा चितवन खैरेनीकी १०८ वर्षीया महिलाको कोरोनाका कारण अस्पताल पुग्न नपाई घरमै ज्यान गयो। उनी दम रोगकी बिरामी थिइन्। भदौ महीनामा मात्र उनीसहित २१ जनाको अस्पताल नपुग्दै बाटो र घरमा ज्यान गएको थियो। मृतक उनीहरू मकवानपुर, मोरङ, सिराहा, धनुषा, रुपन्देही, महोत्तरी, पर्सा, भक्तपुर र काठमाडौं जिल्लाका थिए।
आउने दिनमा मुलुकमा कोरोनाको संक्रमण अझै बढ्ने र घरमै उपचार नपाई ज्यान गुमाउने सिकिस्त संक्रमितहरूको संख्या पनि बढ्ने जनस्वास्थ्य विज्ञहरूको आंकलन छ।
८ असोजमा झापाका एक ७८ वर्षीय क्रोनिक अब्स्ट्रक्टिभ पल्मुनरी डिजिज् (सिओपिडि)का बिरामीको ज्यान गयो। २८ असोजसम्ममा कोरोनाका कारण उपचार नपाई बाटोमा र घरमा ६ जनाले ज्यान गुमाए। उनीहरू झापा, काठमाडौं, बाँके र चितवन जिल्लाका छन्।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ५ महीनाको अवधीमा कोरोनाका कारण अस्पतालसम्म पुग्नै नपाई घर वा बाटोमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या भदौ महीनामा बढी देखिएको छ।
आउने दिनमा मुलुकमा कोरोनाको संक्रमण अझै बढ्ने र घरमै उपचार नपाई ज्यान गुमाउने सिकिस्त संक्रमितहरूको संख्या पनि बढ्ने जनस्वास्थ्य विज्ञहरूको आंकलन छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला अक्सिजनसहितको आवश्यक उपचार सेवा र अस्पतालसम्मको पहुँचको अभावमा कोरोना संक्रमितले ज्यान गुमाइरहेको बताउँछन्।
“तर कतिपय कोरोना संक्रमितले अस्पताल पुगेर पनि पाउनुपर्ने आवश्यक सेवा, हेरचाह र राम्रो व्यवस्थापनको कमीले ज्यान गुमाइरहेका छन्”, डा. बास्तोला भन्छन्। उनी कोरोना संक्रमित अस्पताल पुगे पनि राम्रो अक्सिजनसहितको उपचार व्यवस्था नहुँदा ज्यान गुमाइरहेको बताउँछन्।