जनतालाई जुन कुराले पोलेको छ, प्रधानमन्त्रीलाई त्यसले छोएको पनि छैन: गगन थापा
पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रधानमन्त्री केपी ओली कोरोना महामारी नियन्त्रणका विषयमा गम्भीर नबनेको आरोप लगाएका छन्।
कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसिरहेका थापाले आफ्ना अनुभवहरू साट्न बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत 'लाइभ' आएर आम नागरिकका समस्याले प्रधानमन्त्रीलाई नछोएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
कोभिडबाहेक पनि स्वास्थ्य क्षेत्रमा तमाम समसयाहरू रहेको भन्दै थापाले संक्रमित बाहेकका स्वास्थ्य समस्यालाई पनि राज्यले ध्यान दिनुपर्ने बताए। आर्थिक क्षेत्र तहसनहस भएको र हजारौं मानिसहरू बेरोजगार भएकाबेला प्रधानमन्त्री ओलीको प्राथमिकतामा पार्टीभित्रको झगडाा मात्रै रहेको उनको भनाइ छ।
"गएको १२/१३ दिन मात्रै हेर्दा पनि उहाँको सबैभन्दा बढी प्राथमिकतामा प्रचण्डसँगको भेट, आफ्नै पार्टीका नेताहरू मिलाउने, लुम्बिनी प्रदेशदेखि कर्णाली प्रदेशको पार्टीभित्रको झगडा मिलाउने, मन्त्रिमण्डल पूनरगठनको कुरा छ ", थापाले भनेका छन्, "हामीले भन्नै पर्ने हुन्छ, हाम्रो प्रधानमन्त्रीसँग मुटु छैन।"
उनले प्रधानमन्त्रीको ताल मात्रै नभएर महामारी नियन्त्रणको जिम्मेवारी लिएको स्वास्थ्य मन्त्रालयले पनि सही काम नगरिरहेको विश्लेषण गरे। स्वास्थ्य मन्त्रालयले केही समयअघि निर्णय गरेको उपत्यकाका सबै अस्पताललाई कोभिड विशेष अस्पताल बनाउने कुराको पनि थापाले विरोध गरे। "सबै अस्पताललाई कोभिड अस्पताल बनाउने हो भने गाउँदेखि उपचार गर्न आएको गरीबले कहाँ उपचार गर्ने?", उनको प्रश्न छ। उनले यसको विकल्पमा निजी अस्पतालहरूलाई सरकारले कोभिड विशेष अस्पताल बनाउनुपर्ने धारणा राखेका छन्।
थापा विगत १३ दिनदेखि कोरोना संक्रमित भएर घरमा आइसोलेसनमा बसिरहेका छन्।