गौतम बुद्ध विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ सेवा नेवानिलाई दिइने, खोसिने भो विदेशी वायुसेवाको 'सेल्फ ह्याण्डलिङ'
सरकारले नेपाल वायुसेवा निगम (नेवानि)लाई भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ गर्न दिने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ गरेको लामो अनुभव र राष्ट्रिय ध्वजाबाहक भएकाले व्यवस्थापन सहज हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए।
पोखरेलले हिमालखबरसँग भने, ‘‘सरकारी वायुसेवा भएकोले प्रतिस्पर्धा नगरी सीधै दिन सकिने हुँदा सोही अनुसार तयारी पनि भइरहेको छ’’, उनले भने, ‘‘गौतमबुद्ध विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ नेवानिलाई नै दिनेगरी पहिलो चरणको छलफल भएर सहमति भइसकेको छ। अब औपचारिक रुपमा सम्झौता गर्न भने बाँकी छ।’’
यो विषयमा सरकारी निर्णय गर्नुपर्ने र आवश्यक प्रक्रिया पूर्याउनुपर्ने हुँदा थप छलफल भइरहेको पोखरेलले बताए। विमानस्थलमा नेवानिले सबै विदेशी वायुसेवाको यात्रुको व्यागेज व्यवस्थपन गर्ने, यात्रुलाई जहाजसम्म पुर्याउँने, ल्याउने तथा भर्याङको व्यवस्थापन मिलाउनेसहितको काम गर्ने (ग्राउण्ड ह्याण्डलिङ) सेवा सञ्चालन गर्छ।
विदेशी वायुसेवाहरु, थाइ एअरवेज र एअर इण्डियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वर्षोदेखि गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङको अधिकार पनि खोसिने भएको छ। प्राधिकरणले ती वायुसेवालाई अब सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न नमिल्ने जानकारी दिइसकेको छ।
कोरोनाभाइरस संक्रमणको जोखिमका कारण अहिले दुबै वायुसेवाले नेपालमा उडान गरेका छैनन्। संक्रमणको जोखिम कम भएपछि ती वायुसेवाले पूर्ववत रुपमा पुनः उडान थाल्दा अब सेल्फ ग्राउन्ड ह्याण्डलिङ सञ्चालन गर्न नपाउने प्राधिकरणले जनाएको छ।
गौतमबुद्ध विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ नेवानिलाई नै दिने गरी पहिलो चरणको छलफल भएर सहमति भइसकेको छ । अब औपचारिक रुपमा सम्झौता गर्न बाँकी छ।
विदेशी वायुसेवालाई अब यो अधिकार नदिइने र नेपाली वायुेवालाई नै प्रबर्द्धन गर्ने तथा ‘ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ अनुसार सातामा ३५ भन्दा बढी उडान गर्ने नेपाली वायुसेवालाई भने सेल्फ ग्राउन्ड ह्याण्डलिङ गर्न दिइने प्राधिरकणको भनाइ छ।
प्राधिकरणले यस अघि २८ भदौमा हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्याण्डलिङ सेवा सञ्चालन गर्न दिने निर्णय विवादमा आएपछि विदेशी वायुसेवाले आवश्यक सर्त पूरा नगरी लिइररहेको सुविधामाथि प्रश्न उठेको थियो। स्वदेशी वायुसेवालाई प्रबर्द्धन गर्न दुई विदेशी वायुसेवाले सञ्चालन गरिरहेको सेवा खोसिने भएको हो।
प्राधिकरणका अनुसार निर्देशिकाले तोके अनुसार व्यवस्था मिलाउनुपर्ने भएकाले विदेशी वायुसेवालाई दिँदै आएको सेल्फ ग्राउन्ड ह्याडलिङ अब नदिने निर्णयमा प्राधिकरण पुगेको हो।
नेवानि तयारी अवस्थामा
नेवानिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालन गर्नेगरी आफू तयारी अवस्थामा बसेको जानकारी दिएको छ। निगमका अध्यक्ष शुशील घिमिरले भने, ‘‘निगमले अहिले काठमाडौं विमानस्थलमा दिइरहेकै सेवा भएकोले नयाँ विमानस्थल भए पनि गौतमबुद्धमा ग्राउन्ड ह्याण्डलिङ सेवा सञ्चालन गर्न निगमलाई कुनै थप तयारी गर्नु पर्दैन।’’
निगमले अहिले काठमाडौं विमानस्थलमा दिइरहेकै सेवा भएकोले नयाँ विमानस्थल भएपनि गौतमबुद्धमा ग्राउन्ड ह्याण्डलिङमा सेवा दिँदा निगमलाई कुनै थप तयारी गर्नु पर्दैन्।
प्राधिकरणले नेवानिका पदाधिकारीसँग यस विषयमा तीन साता अगाडि औपचारिक छलफल गरेको थियो।
उक्त छलफलमा निगमले ५० औं वर्षदेखि गरिरहेको काम भएकाले र सुरुआती चरणमा नयाँ विमानस्थलबाट पनि धेरै उडान नहुने भएकाले ग्राउन्ड ह्याण्डलिङको सेवा दिन कुनै समस्या नहुने जानकारी प्राधिकरणलाई दिएको थियो।
निगमले काठमाडौंमा भएकै इक्युपमेन्ट र जनशक्तिलाई भैरहवामा खटाएर काम लिन सकिने बताएको छ।
कोभिड प्रभावका कारण काठमाडौं विमानस्थलमा धेरैवटा वायुसेवाको चाप नहुने र नयाँ विमानस्थलमा पनि एकैपटक धेरै उडान नहुने भएकाले छोटो समयको तयारीले नै यस्तो सेवा प्रदान गर्न सकिने घिमिरे बताउँछन।
सरकारले ६ महीनाको समय दिएमा निगमले नयाँ विमानस्थलमा ग्राउन्ड ह्याण्डलिङ सेवा दिन सक्ने घिमिरेले बताए।