आफ्नै छोरीको साथीलाई बलात्कार गरी हत्या, १४ दिनपछि पक्राउ परे चुनु
दुई हप्ता पहिले १४ वर्षीया किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा ४५ वर्षका पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। गत १६ असोजमा वृन्दावन नगरपालिका ४ हर्दिया पल्टुआमा बाजे वैद्यनाथ साहको घरमा सानैदेखि बस्दै आएकी गढीमाई नगरपालिका १ समनपुरकी १४ वर्षीया किशोरीको शव उखु खेतमा भेटिएको थियो।
दुई हप्ताको व्यापक अनुसन्धानपछि प्रहरीले वृन्दावन नगरपालिका ४ का ४५ वर्षीय चुनु साह तेलीलाई पक्राउ गरेको हो। उखु खेतमा बलात्कार गरी हत्या गरिएकी किशोरीको तेलीको घरमा आउने– जाने भइरहेको थियो।
तेलीकी छोरी मृतक किशोरीकी मिल्ने साथी रहेको र तेलीले बालिकामाथि नराम्रो दृष्टि राख्ने गरेको तथा पक्राउ परेको तेलीले प्रहरी समक्ष प्रारम्भिक अनुसन्धानमा अपराध स्वीकार गरिसकेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
घटना भएको दिन गाईवस्तुको लागि घाँसपात लिन घरदेखि पूर्व रहेको होसनारायण यादवको खेततिर गएको र किशोरी एक्लै गएको मौका छोपी तेलीले किशोरीलाई ललाई फकाई प्रलोभन दिई जबरजस्ती करणी गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। बलात्कारपछि मृतक बालिकाले अरुलाई भनिदिने बताएपछि अन्य व्यक्तिले थाहा पाउने डरले घाँटी थिची हत्या गरेको तेलीले स्वीकार गरेको प्रहरीको भनाइ छ।
हत्या गरी फरार तेलीलाई प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले गरुडा नगरपालिका ४ मा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तेलीलाई नियन्त्रणमा लिई रौतहट जिल्ला अदालतबाट १५ दिनको म्याथ थप भई अनुसन्धान भइरहेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी गराएका छन्।