रौतहटका स्थानीयको गुनासो- 'सहरी विकास पूर्वाधारमा व्यापक लापरवाही भयो'
सहरी विकासलगायतको पूर्वाधार निर्माणको क्षेत्रमा व्यापक लापरवाही रहेको गुनासो स्थानीयबासीले गरेका छन्। नेपाल सरकारको विभिन्न मन्त्रालय तथा सहरी विकास मन्त्रालयबाट सञ्चालित विभिन्न परियोजनाहरुको स्थलगत अनुगमनको लागि गएको टोली समक्ष स्थानीयबासीले निर्माणाधीन परियोजनामा व्यापक लापरवाही रहेको गुनासो गरेका हुन्।
रौतहट क्षेत्र नम्बर ३ का संघीय साँसद प्रभु साह, रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सहरी डिभिजन कार्यालय वीरगंजका डिभिजनल इन्जिनियर रञ्जन दास तथा पूर्वाधार निर्माणको ठेक्का सकार गरेका निर्माण व्यावसायी तथा सञ्चारकर्मीहरुको टोली योजनास्थलको निरीक्षण तथा अनुगमनको क्रममा पुग्दा योजनाअनुसार काम नभएको पाइएको हो।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ मा सञ्चालित करिब २२ करोडको विभिन्न योजनाहरुको ठेक्का सकार गरेको ढुकुछुक कन्स्ट्रक्सनले काममा ढिलाइ गरेको र पेटी ठेकेदार राखेर काम गराइरहेको स्थानीयले टोलीसमक्ष गुनासो गरेका थिए।
योजनाहरुको सही कार्यान्वयन भए नभएको हेर्न टोलीका प्रतिनिधिहरुले सर्वसाधारणलाई पनि सचेत पारेका छन्। साँसद साहले गुणस्तरीय कामको लागि सबै पक्षले निरन्तर दबाब दिनुपर्ने बताउँदै निगरानीका लागि स्थानीयबासी र सञ्चारकर्मीलाई आग्रह गरेका छन्।
प्रमुख जिल्ला अधिकारी यादवले पनि सबै विकास निर्माणको काम समयमा सम्पन्न गर्नुपर्ने तथा आवश्यक सबै किसिमको रचनात्मक सहयोग गर्ने बताएका छन्।
जिल्लाको मौलापुर, गरुडा, कटहरिया लगायतको नगरपालिकामा निर्माणाधीन सडक, नाला, भवनलगायतका पूर्वाधारहरुको स्थलगत अनुगमन निरीक्षण गरिएको छ।