नवनियुक्त अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण
नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्। बिहीबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले मन्त्रालय पुगेर पदभार सम्हालेका हुन्।
मन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले अर्थमन्त्री नियुक्त गरेका थिए। पदभार ग्रहणअघि मन्त्री पौडेललाई मन्त्रालयका कर्मचारीहरूले स्वागत गरेका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव समेत रहेका पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका हुन्।
यसअघि भूकम्प, मधेस आन्दोलन र भारतको नाकाबन्दीका कारण धरासायी भएको बेला (२०७२ कात्तिक १९ गते)मा अर्थतन्त्रको बागडोर सम्हालेका थिए।अहिलेपनि कोरोना भाइरसका कारण अर्थतन्त्रमा गम्भीर असर परेको अवस्थामा पुनः अर्थमन्त्रीको बागडोर सम्हाल्ने जिम्मेवारीमा पौडेल आइपुगेका छन्।