सहरी विकासमन्त्री श्रेष्ठले गरे पदभार ग्रहण, राज्यमन्त्री मानन्धरसँग मिलेर परिणाममुखी काम गर्ने प्रतिवद्धता व्यक्त
नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन्। मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाएका हुन्।
मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहेका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने उनले बताए। जस्तोसुकै चुनौती आएपनि दुबै जनाको संयुक्त प्रयासले चिर्ने प्रयास गर्ने श्रेष्ठको भनाइ छ। प्रतिकुलतासँग झस्केर बर्वाद भयो भनेर कहिले पनि निराश नबन्ने उल्लेख गर्दै उनले प्रतिकुलताभित्र अनुकुलता सिर्जना गरिने कामको परिणाममा आफुले विश्वास गर्ने बताए। उनले कुरा भन्दा पनि काम र परिणामलाई विश्वास दिने पनि बताए।
श्रेष्ठले आज विहान पद तथा गोपनियताको सपथ लिएका हुन्। शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट श्रेष्ठ सँगै विष्णु पौडेल र लिलानाथ श्रेष्ठले पनि पद तथा गोपनियताको सपथ लिएका थिए।