नेचर गाइड दिदी बहिनी भन्छन्ः जंगलभित्र पाइला पाइलामा खतरा छ
खतरनाक वन्यजन्तुहरु भएको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकलाई घुमाउँदा आफू मात्र नभइ पर्यटकको पनि सुरक्षा ख्याल गर्नुपर्छ। पथप्रदर्शक दिदी बहिनी सुशीला र मञ्जु क्षेत्री यो जोखिममा नै रमाइरहेका छन्।
गेरुवा नदीछेउ घर। नदीमा देखिने गोही, माछा, र डल्फिन सुशीला क्षेत्रीका लागि नयाँ थिएनन्। फुर्सदको समयमा उनी माछा, गोही र डल्फिन हेर्न नदी किनार पुग्थिन्।
नदीको पश्चिमपट्टि बर्दिया राष्ट्रिय निकुञ्जको घनघोर जंगल छ। बाटो हिँड्दा निकुञ्जका जनावरहरु देखिन्छन्। सुशीलालाई ती जनावर साथीजस्तो लाग्थ्यो। “विद्यालय आउँदा जाँदा बाटोमै जनावरसंग जम्घाभेट हुन्थ्यो, देख्दा देख्दा यहाँका जनावर साथीजस्ता भए,” सुशीला सुनाउँछिन्।
विद्यालय तहको शिक्षा पूरा गरिसक्दा आसपास देखिने निकुञ्ज तथा नदीमा देखिन वन्यजन्तु र जीवसँग उनको प्रेम बस्यो। एसएलसी पास गरेपछि उनले बर्दियाकै होटलमा काम गर्दै उच्च शिक्षा अघि बढाइन्। होटलमा काम गर्दा पर्यटकहरु आउँथे, सफारीका लागि नेचर गाइड (पथप्रर्दशक) ले लैजान्थे। त्यो देख्दा उनलाई पनि पथप्रदर्शक बन्ने रहर लाग्यो।
कहिलेकहाँही पथप्रदर्शकको सहयोगीको रुपमा पानी बोकेर जंगल जान पाउँथिन्। “यसरी जंगल जाँदा पनि गाइड बन्ने हुटहुटी झन बढ्थ्यो,” उनी भन्छिन्, “मेरो चाहनाले मात्र हुँदैनथ्यो, त्यसका लागि होटलले विश्वास गरेर जंगल घुमाउने पाहुन दिनुपथ्र्यो। जंगलमा जनावरको आक्रमणबाट पाहुनालाई बचाउने सीप पनि चाहिन्थ्यो।”
होटलमा काम गर्दागर्दै पाँच वर्षअघि उनी पथप्रर्दशकका लागि बाँके राष्ट्रिय निकुञ्जले दिएको तालिममा सहभागी बन्ने अवसर पाइन्। तालिममा जनावरको पाइला चिन्ने, पर्यटकलाई सुरक्षित रुपमा घुमाउने र सूचना दिने विषयमा व्यवहारिक अभ्यास गराइयो।
तालिमपछि उनले दुई वर्षसम्म होटलमा काम गरिन्। “शुरुमा त गाह्रो थियो। होटलले पनि विश्वास गर्दैनथे, जनावरसंग जम्काभेट भयो भने के गर्लान् भन्थे”, शुसीला भन्छिन्, “पछि विश्वास गर्न थाले। शुरुदेखि नै जनावरसंग भिजेको भएर होला जनावर त छिमेकी जस्तो लाग्छ।”
उनले तीन वर्षदेखि भने होटलको जागिर छोडेर स्वतन्त्र रुपमा बर्दिया राष्ट्रिय निकुञ्जमा पथप्रर्दशक भएकी छिन्। उनी स्वतन्त्र रुपमा गरेको कामबाट खुसी छन्। “कोरोना महामारीका कारण बन्दाबन्दी घोषणा हुनुअघि धेरै राम्रो थियो। होटलहरुले पनि बोलाएर पाहुना दिन्छन्। मेरो व्यक्तिगत सम्पर्कबाट पनि पर्यटक आउनुहुन्छ, म एकदमै सन्तुष्ट छु,” सुशीला सुनाउँछिन्।
सुशीलासंगै उनकी बहिनी मञ्जु पनि पथप्रदर्शक छिन्। मञ्जु पथप्रदर्शक भएको तीन वर्ष भयो। एसएलसी उत्तीर्ण गरेपछि उनले ११ र १२ कक्षामा होटल म्यानेजमेन्ट पढिन्। त्यस क्रममा प्रयोगात्मक परीक्षाका लागि बर्दियाको होटलमा केही महीना काम गरिन्। अनि त्यहीँबाट ‘नेचर गाइड’मा लागिन्।
“सानैदेखि प्रकृतिसंग विषेश लगाव थियो, त्यसैले प्रकृतिमै काम गर्ने पेसालाई रोजें,” मञ्जु भन्छिन्। उनी पनि स्वतन्त्र रुपमा काम गर्छिन्। तीन वर्षको अनुभवबाट सन्तुष्ट भएको उनी सुनाउँछिन्। “महामारीले पर्यटन क्षेत्र बन्द नहुने हो भने त आर्थिक रुपमा पनि राम्रो छ, सानैदेखिको सपना भएर होला एकदमै खुसी छु”, उनी भन्छिन्।
मञ्जुको लगाव फोटोग्राफीमा पनि छ। उनले फोटो खिच्ने तालिम भने लिएकी छैनन्। तर, वन्यजन्तु, चराचुरुङ्गीका थुप्रै तस्वीर कैद गरेकी छन्। अभ्यासबाटै फोटो खिच्न जानेको उनी बताउँछिन्।
पाइला पाइलामा खतरा
पर्यटकहरुलाई निकुञ्ज घुमाउने र वन्यजन्तु देखाउने काम सजिलो छैन। आफ्नो सुरक्षा त छँदै छ, पर्यटकहरुलाई पनि सुरक्षित ल्याउनुपर्ने जिम्मेवारी हुन्छ। “वनमा घाँस दाउरा गर्न जानेहरु जंगली जनावर नभेटिए हुन्थ्यो भन्ने कामना गर्छन्, हामी त पहिले नै नजिकबाट जनावर देखिए हुन्थ्यो भनेर हिंड्नुपर्छ”, मञ्जु भन्छिन्।
वन्यजन्तुबाट जोगिएर अवलोकन गर्नु सधैँ जोखिम हुन्छ। पाइला पाइलामा खतरा हुन्छ। चुनौती र दुखकै कारण यो पेशामा आबद्ध सबै टिकिराख्न सक्दैनन्।
बर्दियाको ठाकुरद्वारामा तालिम लिने महिला नेचर गाइडको संख्या ३० भन्दा धेरै छ। तर, अहिले पाँच जना मात्र कार्यरत छन्। “नेचर गाइडमा टिकिराख्न ठूलो लगाव चाहिन्छ। वनमा जनावर भेट्न दुई तीन घण्टासम्म एकै ठाउँमा बिरालो जस्तो कुरेर बस्नुपर्छ,” सुशीला भन्छिन्।
मञ्जु र सुशीला पनि वन्यजन्तुको आक्रमणमा परिसकेका छन्। तीन वर्षअघि फागुनको अन्तिम हप्ता सुशीला बेलायतका दुई जना महिला पर्यटक लिएर बर्दिया राष्टिय निकुञ्जको बाघ मचानपारि पुगेकी थिइन्। पात झरेको मौसम भएकाले उनीहरुले बाटो बिराए।
पातको आवाजका कारण डुम्रिको रुखमुनि आराम गरेर बसेको गैंडाले एक्कासी झम्टियो। “रुखमा उक्लिएर ज्यान बचायौं, धन्न नजिकमै चढ्न सकिने रुख भेटियो। नभए त गैंडाले सिध्याउने रहेछ,” सुशीला भन्छिन्।
पातको आवाजका कारण डुम्रिको रुखमुनि आराम गरेर बसेको गैंडाले एक्कासी झम्टियो। “रुखमा उक्लिएर ज्यान बचायौं, धन्न नजिकमै चढ्न सकिने रुख भेटियो। नभए त गैंडाले सिध्याउने रहेछ,” सुशीला भन्छिन्।
एक वर्षअघि मञ्जु पनि वन्यजन्तुको आक्रमणमा परेकी थिइन्। उनी दुई जना पर्यटक लिएर मधुवन नगरपालिकाको डल्लास्थित शिवशक्ति सामुदायिक वनमा गएकी थिइन्। त्यही वेला बच्चा सहितको गैंडासंग जम्काभेट भयो। झोला फालेर रुखको हाँगामा झुण्डिएर ज्यान बचाएको मञ्जु बताउँछिन्।
सुशीलासँग जंगलमा जाँदा गैंडाको आक्रमणबाट बचेका दुई बेलायती पर्यटकले महिला पथप्रदर्शकका लागि आत्मरक्षाको तालिम गराउने योजना बनाएका छन्। तर, कोरोनाभाइरस महामारीका कारण रोकिएको सशीला बताउँछिन्।