अस्कर कलेजको तीनदिने भर्चुअल फिल्म महोत्सव
फिल्म पढाइ हुने अस्कर इन्टरनेशनल कलेजले भर्चुअल फिल्म महोत्सव गर्ने भएको छ। ३० असोज शुक्रबारदेखि आइतबारसम्म चल्ने महोत्सवमा अस्कर कलेजकै विद्यार्थीले निर्माण गरेका ९ वटा फिल्म प्रदर्शन हुनुका साथै नेपाली तथा विदेशी फिल्मकर्मीसँग विभिन्न विषयमा अन्तर्क्रिया पनि हुनेछ।
फिल्म निर्देशक तथा कलेजका प्रिन्सिपल विनोद पौडेलले कोरोना संक्रमण महामारीका कारण सुस्ताएको चलचित्र उद्योगलाई गतिशील बनाउन महोत्सव गर्न लागेको बताए। "महामारीले हामीलाई हाम्रो विगत, वर्तमान र भविष्य सबै कुराको चिन्तन र आत्ममूल्यांकन गर्ने समय दिएको छ", उनले भने "प्राज्ञिक बहस मार्फत हामी हाम्रा शक्ति र कमजोरीका बारेमा कुरा गर्न सक्छौं भन्ने लागेर यो महोत्सव आयोजना गरेका हौं।"
महोत्सव अन्तर्गत देखाइने फिल्म र गरिने अन्तर्क्रिया ओस्कर कलेजको फेसबूक पेज तथा यूट्युबबाट प्रत्यक्ष हेर्ने सकिने जनाइएको छ।
कलेजका अनुसार, पहिलो दिन शेखर खरेल, विनोद पौडेल र मनोजबाबु पन्तसँग फिल्म अध्ययनको आरोह-अवरोहबारे अन्तर्क्रिया हुनेछ भने दोस्रो सेसनमा आश्मा पोखरेलले महिला फिल्ममेकर दीपा बस्नेत, रजिता श्रेष्ठ, महिमा नवबाघ, शबनम मुखिया र इतुशा पोखरेलसँग छलफल गर्नेछिन्। पहिलो दिनको अन्तिम सेसनमा अंकित कोइराला, रिजन गजुरेल र राकेश भाजु फिल्म देखाएपछि हुने छलफलमा सहभागी हुनेछन्। अन्तक्रियालाई केदार श्रेष्ठले सहजीकरण गर्नेछन्।
दोस्रो दिनको पहिलो सेसनमा अरुणदेव जोशीले मीन भाम, सुजित बिडारी, निरञ्जनराज भेटवाल र अंकित पौडेलसँग अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले दिने अवसरका बारेमा कुरा गर्नेछन् भने यसपछिको सेसनमा शेखर खरेलले नेपाली फिल्म उद्योगमा काम गर्दाका चुनौती र अवसरबारे स्वस्तिमा खड्का, रबिन्द्रसिंह बानियाँ, दीपेन्द्र के खनाल, प्रदीप भट्टराई र अनुप बरालसँग अन्तर्क्रिया गर्नेछन्।
अर्को सेसनमा नवीन न्यौपानेले फिल्म ग्राजुएटको रुपमा फिल्म उद्योगमा काम गर्दाको अनुभवबारे कबिर खड्का, मनिष राउत, महेश त्रिपाठी, मुकुन भुषाल र अभय बराललाई सोध्नेछन्। दोस्रो दिनको अन्तिम सेसन अशुका अर्याल, मार्टिन भण्डारी र गणेशजंग रावल निर्देशित फिल्म देखाइनेछ भने प्रशन्न मालीले उनीहरुसँग अन्तर्क्रिया गर्नेछन्।
महोत्सवको तेस्रो तथा अन्तिम दिन शुरुको समयमा विद्यार्थी लक्षित कार्यशाला पनि हुनेछ, जसलाई निश्चल बस्नेत, दयाहाङ राई, ऋचा शर्मा र दीपकराज गिरीले सम्बोधन गर्नेछन्। अन्तिम दिनको पहिलो सेसनमा राजन कठेतले फिल्म अध्ययनपछिका अवसरबारे शिशिर बिशंखे, दिकेश खड्गी, अंकित पौडेल र निगम भण्डारीसँग संवाद गर्नेछन्।
दोस्रो सेसनमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, निर्माता संघका अध्यक्ष आकाश अधिकारी र निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठले फिल्म सम्बन्धी नीति नियमको अवस्थाको बारेमा कुरा गर्नेछन् यसपछिको सेसनमा निर्देशक छिरिङ रितार शेर्पाले विदेशी फिल्ममेकर गुयम मेगुट, मिचेल हेनरिक र इनग्रिड लिल हगटनसँग फिल्म को–प्रडक्सनको सम्भावनाबारे छलफल गर्नेछन्।
अन्तिम सेसनमा राजकुमार राई, बिजेश महर्जन र निपिल शर्मा निर्देशित फिल्म देखाइने र फिल्म प्रदर्शनपछि उत्पल झाले उनीहरुसँग अन्तर्क्रिया गर्नेछन्।