तिब्बतबाट आयात रोकिँदा मुस्ताङमै महङ्गो भए च्याङ्ग्रा
मुस्ताङबाट दशैँका लागि पोखरालगायत शहर झारिएका च्याङ्ग्रा अपर्याप्त भएपछि महङ्गो भएका छन्। यो वर्ष चीनको तिब्बतबाट आयात रोकिएको कारण थोरै मात्र च्याङ्ग्रा शहर ल्याइएकाले मूल्य आकाशिएको हो।
बाढी पहिरोको कारण पनि गोठमा नै च्याङ्ग्रा महङ्गो भएको व्यापारीले बताएका छन्। एउटा ३६ केजीको जिउँदो च्याङ्ग्राको मूल्य रु.३० हजार कायम गरिएको एक व्यापारीले बताए। जसअनुसार जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु.८३३ पर्छ।
यसपटक डोल्पा र मुस्ताङबाट च्याङ्ग्रा पोखरा ल्याइएका छन्। ३६ किलोको च्याङ्ग्राको मुस्ताङमा नै रु.२८ हजार लिन थालिएको छ। हरेक वर्ष दशैँमा तिब्बतबाट २० हजारको हाराहारीमा च्याङ्ग्रा आयात गरिन्थ्यो। तर, यो वर्ष उताबाट आयात ठप्प हुँदा प्रति च्याङ्ग्रा रु.८ हजारसम्म मूल्य बढेको सिन्धुपाल्चोकबाट आएका ब्यापारी अम्मरबहादुर ठकुरी बताउँछन्।
च्याङ्ग्रा महङ्गो भएपछि मुस्ताङ पुगेका कतिपय व्यापारी रित्तै फर्किएका छन्। ठकुरी भन्छन्, “च्याङ्ग्रा यतै महङ्गो भएपछि नबिकेर पैसा डुब्ने डरले कतिपय व्यापरी मुस्ताङबाट रित्तै फर्किए।”
अघिल्लो वर्ष यातायात लगायतका खर्च कटाएर काठमाण्डौको कालिमाटीमा बिक्री गर्ने मूल्य यसपटक मुस्ताङमै तिर्नुपरेको व्यापारी विष्णु सुवेदी बताउँछन्। करीब ६०० च्याङ्ग्रा खरिद गर्ने योजना बनाएर मुस्ताङ पुगेका उनी बिचौलियाको चलखेलले किसान र उपभोक्ता मारमा परेको बताउँछन्।
ठकुरी र सुवेदी मिलेर २०० च्याङ्ग्रा ल्याए। नियमित व्यापारी पुग्नु अगाडी नै स्थानीय र नयाँ व्यापारीले च्याङ्ग्रा खरिद गरी मूल्य बढाएको उनीहरुको गुनासो छ। “एक हजार च्याङ्ग्रा खरिद गर्न आएका व्यापारीलाई आधा खरिद गर्न पनि गाह्रो छ। यसपटक काठमाडौँमा ४०० च्याङ्ग्रा पु¥याउन पनि मुस्किल छ”, सुवेदी भन्छन्।
मुस्ताङी च्याङ्ग्रा जिउँदो प्रति केजी रु.१ हजारमा बिक्री गर्दासमेत लगानी नउठ्ने व्यापारीहरुको भनाई छ। मुस्ताङबाट करीब १० हजार र डोल्पाबाट ४०० को हाराहारीमा च्याङ्ग्रा बाहिरिने अनुमान छ।
गएको वर्ष मुस्ताङबाट करीब २५ हजार च्याङ्ग्रा निर्यात भएको थियो। तिब्बतबाट पनि आयात गरिएको थियो। तर, यस वर्ष करीब ४५ प्रतिशत कम च्याङ्ग्रा निर्यात हुने व्यापारी बताउँछन्।
हिमाली हावापानी र चिसो वातावरणमा हुर्किएका च्याङ्ग्राको मासु स्वादिलो मानिन्छ। तिब्बतबाहेक उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो घेकर, दामोदरकुण्ड र वारगुङ मुक्ति क्षेत्र गाउँपालिका भेडाच्याङ्ग्राको पकेट क्षेत्र मानिन्छ। तर, चरनक्षेत्रको समस्याले उत्पादनमा वृद्धि हुन सकेको छैन।
मुस्ताङमा भेडाच्याङ्ग्राको मूल्य आकाशिएपछि व्यापारी म्याग्दीको ग्रामीण क्षेत्रका भेडाको खोजीमा लागेका छन्। जिल्लाको धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको हिमाली भागमा चरन क्षेत्रबाटै भेडाको बिक्री शुरु भएको छ।