बहराइनका राजपरिवार सदस्यको मनास्लु आरोहण सफल
बहराइनका राजपरिवारका सदस्य शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले बिहीबार बिहान मनास्लु हिमालको सफल आरोहण गरेको छ।
राजपरिवारका सदस्यको १८ सदस्यीय टोली बिहान सवा ७ बजे मनास्लु हिमाल (८,१५६ मिटर) को शिखरमा पुगेको आरोहण दलका संयोजक सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ। यो हिमाल गोरखा जिल्लामा पर्छ। यो विश्वको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो।
यो टोलीले यसअघि १७ असोजमा सोलुखुम्बु जिल्लामा पर्ने खुम्बु क्षेत्रको लोबुचे हिमाल (६,११९ मिटर)को आरोहण गरेको थियो। नेपालमा लोबुचे र मनास्लु आरोहणकै लागि आएको यो टोलीको आरोहण सफल भएको सेभेन समिटले जानकारी दिएको छ।
यो टोलीमा १५ जना बहराइन र ३ जना बेलायती नागरिक छन्। गएको ३१ भदौमा नेपाल आएको टोलीको हिमाल आरोहणले कोभिड-१९ महामारीमा पनि पर्वतीय पर्यटन हुनसक्ने सकारात्मक सन्देश प्रवाह भएको जनाइएको छ।
पर्यटन विभागकी प्रवक्ता मिरा आचार्यका अनुसार आज बिहान ७ बजेर १० मिनेटमा आरोहण टोलीका १८ सदस्य मध्ये १४ जना जनाले शिखर चुमेको बताइन्। विभागलाई मनास्लु आधार शिविरमा रहेको सम्पर्क अधिकृत तिलक रिजाल र खेमराज जोशीले राजपरिवार सदस्यको आरोहण भएको जानकारी दिएको आचार्यले बताइन्।