दिल्ली आईपीएलको शीर्षस्थानमा, सन्दीप लगातार आठौँ खेलमा बेञ्चमै
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै शीर्षस्थानमा पुगेको छ।
दिल्लीले दिएको १६२ रनको लक्ष्य पछ्याएको राजस्थान मात्र १४८ रनमा समेटिएको थियो। राजस्थानका लागि बेन स्टोकले ४१, रोबिन उथप्पाले ३२ र सन्जु सामसङले २५ रन बनाए। दिल्लीका लागि तुषार देशपाण्डे र एनरिच नोत्र्जेले दुई/दुई विकेट लिए।
राजस्थान १३.१ ओभरमा ११०/४ को अवस्थामा थियो। उसका लागि जित सहज देखिएको थियो। तर, लगत्तै बलमा विकेट गएपछि उसका मध्य र तल्लो क्रमका ब्याट्स्म्यान चल्न सकेनन्।
यसअघि टस जितेर ब्याटिङ गरेको दिल्लीका लागि शिखर धवनले ३३ बलमै ५७ रन बनाएका थिए। त्यस्तै कप्तान श्रेयस ऐयरले ५३ रन बनाए।
१६ ओभरमा १३२/४ को अवस्थामा रहेको दिल्लीले पछिल्लो चार ओभरमा मात्र २९ रन बनाउन सकेको थियो। राजस्थानका लागि जोफ्रा आर्चरले तीन विकेट लिए। निकै कसिलो बलिङ गरेका उनले चार ओभरमा मात्र १९ रन दिए।
दिल्ली आठ खेलबाट १२ अंकसहित तालिकाको शीर्षस्थानमा पुगेको छ। दोस्रो स्थानमा रहेको मुम्बईको १० अंक छ। उसले एक खेल कम खेलेको छ।
यता दिल्लीमा आबद्ध नेपाली खेलाडी सन्दीप लामिछानेले योसहित लगातार आठ खेलमा मौका पाएनन्। उनले यो सिजन कुनै पनि खेल खेल्न पाएका छैनन्। दिल्लीका रविचन्द्र आश्विन र अक्षर पटेलले राम्रो प्रदर्शन गरिरहेकाले सन्दीपले मौका नपाएका हुन्।
दिल्लीसँग चार स्पिनर छन्। अमित मिश्रा घाइते छन्। अक्षर पटेल अलराउन्डर हुन्। रविचन्द्र आश्विन भेट्रान खेलाडी भएकाले सन्दीपलाई अन्तिम-११ मा स्थान बनाउन सजिलो छैन।
तीव्र गतिका दुई बलर विदेशी कोटाबाट खेलिरहेकाले पनि उनलाई मुस्किल परेको हो। तीव्र गतिका भारतीय बलरले राम्रो प्रदर्शन गर्न सकेका छैनन्। यस्तोमा मौका पाएका तुषार देशपाण्डेले हिजो भने केही आशा जगाएका छन्।
विदेशी कोटामै खेलिरहेका मार्कस स्टोइनिस अलराउन्डर हुन्। उनले राम्रो प्रदर्शन गरिरहेका छन्। यसअघि स्थान पाइरहेका सिम्रन हेटमेयरको ठाउँमा भने हिजो दिल्लीले एलेक्स क्यारीलाई खेलाएको थियो। उनी विकेटकिपर ब्याट्स्म्यान हुन्।
टीममा विदेशी कोटा मिलाउनुपर्ने हुनाले पनि सन्दीपले मौका पाउने संभावना कम छ। एकपटकमा चार विदेशी खेलाडीले मात्र खेल्न पाउँछन्।