केन्द्र राख्ने विवादमा झडप, गाउँपालिका अध्यक्षसहित १४ घाइते
बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर झडप हुँदा गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टसहित १४ जना घाइते भएका छन्। घाइते हुनेमा पाँच प्रहरी पनि छन्।
सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष विष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। सुर्नया गाउँपालिकाको केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीयले केही दिन अघि तालाबन्दी गरेका थिए। केन्द्रका विषयमा बुधबार दिनभरी छलफल हुँदा समेत निष्कर्षमा नपुगेपछि बेलुका ताला खोल्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ।
झडपमा परेर पाँच प्रहरी र सङ्घर्षरत पक्षका ६ जना पनि घाइते छन्। त्यस्तै अध्यक्ष विष्टसँग रहेका अन्य तीनजना समेत घाइते भएका सुर्नया पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए। घाइते सबैको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।
गाउँकार्यपालिकाले सुर्नया गाउँपालिकाको केन्द्र पबिता राख्ने निर्णय गत वर्ष नै गरेको थियो। तर, स्थानीयले सर्वोच्चमा विचाराधीन मुद्दा भएकाले केन्द्रका विषयमा कुनै काम गर्न नपाइने भन्दै गाउँपालिकामा तालाबन्दी गरेका थिए।
गाउँपालिका अध्यक्षमाथि कुटपीट भएपछि प्रहरी निरीक्षक धनदेव साउदको नेतृत्वमा प्रहरी घटनास्थल प्रहरी पुगेको थियो। त्यस्तै उक्त ठाउँमा सशस्त्र प्रहरीको टोली समेत खटाइएको छ।
सम्भावित थप जोखिम कम गर्नका लागि सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। गाउँपालिकामा तालाबन्दीकै कारण बुधबार हुने भनिएको गाउँसभा हुन सकेन।