देशका ७७ वटै जिल्लामा कोरोनाका सक्रिय संक्रमित, प्रकोपको केन्द्र बन्ने खतरामा गाउँ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २८ असोजसम्मको तथ्यांकले कोरोनाका सक्रिय संक्रमित देशभरका ७७ वटै जिल्लामा रहेको देखाएको छ।
सबै जिल्लामा कोरोना संक्रमित भेटिए पनि धेरैजसो निको भएका कारण यसअघि केहि जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य थियो।
स्वास्थ्य मन्त्रालयको २७ असोजसम्मको तथ्यांक हेर्ने हो भने मनाङ जिल्लामा मात्र कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य थियो। २२ असोजसम्मको तथ्यांक अनुसार मनाङ र मुस्ताङ गरी दुई जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य थियो। त्यस बेलासम्म मुलुकभर २६ हजार ६८४ कोेरोनाका सक्रिय संक्रमित थिए।
स्वास्थ्य मन्त्रालयको १५ असोजसम्मको तथ्यांक अनुसार मनाङ, मुस्ताङ, डोल्पा र मुगु गरी चार जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य थियो। १५ असोजसम्म मुलुकभर कोरोनाका सक्रिय संक्रमितको संख्या भने २१ हजार ८३० थियो।
१५ दिन अघिसम्म अर्थात ३० भदौसम्ममा कोरोनाका शून्य सक्रिय संक्रमित रहेका जिल्ला सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ६ वटा थिए। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार त्यसबेलासम्म मुलुकभर कुल १५ हजार ७७९ मात्र कोरोनाका सक्रिय संक्रमित थिए।
२८ असोजसम्मको तथ्यांक अनुसार कोरोनाका संक्रमितको कुल संख्या १ लाख १७ हजार ९९६ पुगेको छ। यीमध्ये ३६ हजार ३६७ सक्रिय संक्रमित छन्, भने ६७५ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ।
मन्त्रालयको पछिल्लो तथ्यांकले कोरोना भाइरसको संक्रमण देशभर बढीरहेको देखाएको छ। आउँदै गरेको दशैँमा संक्रमण झनै विस्तार हुने र गाउँ प्रकोपको केन्द्र बन्ने खतरा रहेको जनस्वास्थ्यका जानकारहरु बताउँछन्।
दशैँ, तिहार र छठ जस्ता पर्व मनाउन मानिसहरु गाउँ फर्किने क्रम शुरु भइसकेको छ। गाउँ फर्किने क्रममा सुरक्षा मापदण्ड समेत पालना भएको छैन। यस्तो अवस्थामा गाउँ फर्किएका युवाहरुबाट घरमा भएका वृद्धवृद्धामा कोरोना भाइरसको संक्रमण हुने र त्यसले थप स्वास्थ्य जटिलता निम्त्याएर ज्यानै जाने जोखिम रहेको धुलिखेल अस्पतालको जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम प्रमुख डा. विराज कर्माचार्य बताउँछन्।
“गाउँ गएका युवाहरुलाई त केही दिनमा कोरोना निको होला”, डा. कर्माचार्य भन्छन्, “तर दशैँ लगत्तै बुढाबुढी सिकिस्त हुनेवाला छन्।” कोरोनाको प्रकोपले स्वास्थ्य सेवाका हिसाबले अन्य ठाउँको तुलनामा सुविधा सम्पन्न मानिएको काठमाडौंमै अक्सिजन नपाएर सिकिस्त बिरामीहरुले ज्यान गुमाइरहेका छन्। तर, गाउँमा स्वास्थ्यका आधारभूत पूर्वाधारको कमी छ।
यस्तो बेला त्यहाँ कोरोनाका सिकिस्त बढ्दा अक्सिजनसहितको राम्रो स्वास्थ्य उपचार नपाएर ज्यान जानेको संख्या बढ्न सक्ने डा. कर्माचार्य बताउँछन्। उनी सहरको तुलनामा गाउँमा बृद्धबृद्धाको संख्या धेरै भएकाले उनीहरुलाई जोगाएर राख्नुपर्ने बताउँछन्।
चाड पर्वका बेला गाउँमा एक जना व्यक्ति भेटघाटका लागि आफन्त र छरछिमेकमा पुग्दा उसबाट भाइरसको संक्रमण बृद्धबृद्धामा फैलिने र उनीहरु सिकिस्त हुँदा राम्रो उपचार सेवा नपाएका कारण ज्यान जाने जोखिम रहन्छ। गाउँमा कडाईका साथ धार्मिक र साँस्कृतिक चालचलन मान्ने भएकाले त्यस क्रममा हुने विभिन्न संस्कारका कारण पनि भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने जोखिम रहन्छ। त्यसो त भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र सरसफाईको कमी जस्ता कारणले पनि गाउँ कोरोना प्रकोपको जोखिममा परेको हो।
डा. कर्माचार्यका अनुसार गाउँलाई कोरोनाको प्रकोपबाट जोगाउन जनचेतना फैलाउने, सकेसम्म गाउँ नजाने, गइहालेमा तोकिएको समयसम्म क्वारेन्टीनमा बस्ने, जानै परेमा पीसीआर परीक्षणबाट नेगेटिभ रिपोर्ट आएमात्र गाउँ जाने र भौतिक दूरी कायम गर्ने तथा मास्क लगाउने जस्ता गतिविधि कडाईका साथ पालना गर्नुपर्छ। डा. कर्माचार्य गाउँमा कोरोनाको प्रकोप फैलिन नदिन कोरोना परिक्षण बढाउनु पर्ने, जनस्वास्थ्यका मापदण्डहरु कडाईका साथ लागू गर्नुपर्ने, क्वारेन्टिन र अक्सिजनसहितको आइसोलेसनको व्यवस्था गर्नुपर्ने बताउँछन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे दशैँमा घर जाने व्यक्तिबाट त्यहाँ कोरोनाको संक्रमण बढ्न सक्ने भएकाले जो जहाँ छ त्यहीँ रहेर सुरक्षित साथ चाडपर्व मनाउनु पर्ने बताउँछन्। डा. पाण्डे गाउँलाई कोरोना संक्रमणबाट जोगाउन स्थानीय सरकारले योजना बनाएर भूमिका खेल्नुपर्ने बताउँछन्।