बुढीगण्डकीबारे नेकपाको चुनौतीलाई बाबुरामको जवाफ: 'जनलोकपाल गठन गरौं, दोषी ठहरे दण्डित हुन्छु'
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बुढीगण्डकी परियोजनामा भ्रष्टाचार भएको प्रमाण देखाउन तयार भएको तर त्यसका लागि जनलोकपाल गठन गर्नुपर्ने बताएका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले बुढीगण्डकी परियोजनाबाट घुस लिएको प्रमाण सार्वजनिक गर्न चुनौती दिएपछि भट्टराईले ट्वीटमार्फत यस्तो विकल्प अघि सारेका हुन्।
"बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार काण्डको छानविन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं। सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं। म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ!", भट्टराईले ट्वीटमा उल्लेख गरेका छन्।
नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई बुढीगण्डकी परियोजनामा ९ अर्ब घुस खाएको अभिव्यक्ति दिएपछि दुवै दलले विज्ञप्ति निकाले प्रमाण पेश गर्न चुनौती दिएका छन्।
भट्टराईले भने आफूले गलत नबोलेको र छानविन हुँदा प्रमाण पेश गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।