नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक दशैं तिहारपछि बस्ने
नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक दशैं तिहारपछि बस्ने भएको छ। यसअघि दुई पटक मिति तय भएर स्थगित भएको बैठक दशैं तिहारपछि मात्रै बस्ने भएको हो।
कोरोनाको संक्रमण बढेको र धेरै जना एकैपटक भेला भएर छलफल गर्न सक्ने अवस्था नभएका कारण दशैअघि बैठक नबस्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। सम्भव भए कोजाग्रत पूर्णिमाको केहीदिन पछाडि सबैको पीसीआर परीक्षण गरी बैठक सञ्चालन गर्ने विषयमा पदाधिकारीबीच छलफल चलिरहेको उनले बताए।
दशैँ र तिहारकोबीचमा बैठक बस्न नसके तिहारपछि पनि बस्ने शर्माले बताए। विशेषगरी महाधिवेशनको सन्दर्भमा छलफल गर्न केन्द्रिय समिति बैठक बोलाइएको हो।
पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले लिखित रुपमा पेश गरेको असन्तुष्टिका विषयमा पनि बैठकमा छलफल गर्ने एजेण्डा रहेको थियो। प्रवक्ता शर्माले ७ फागुनमा पार्टीको महाधिवेशन सम्पन्न गर्नेगरी बाँकी कार्यतालिका हेरफेर गर्ने, फागुनमा महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्थामा कति समयपछि गर्न सकिन्छ भन्ने विषयमा पनि अब बस्ने बैठकमा छलफल हुने बताए।
फागुनमा महाधिवेशन सम्पन्न नभए जेठमा गर्ने गरी तयारी गरिने उनले बताए। यसअघि पहिलोपटक १९ असोजका लागि बोलाइएको बैठक केही केन्द्रिय सदस्यहरूमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो। दोस्रो पटक २५ असोजका लागि बैठक बोलाइएको भएपनि पार्टीका पूर्व कोषाध्याक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो।