७ कात्तिकदेखि विदेशी च्यानल विज्ञापनरहित, क्लिन फिड कार्यान्वयन नभए कारबाही हुने
सरकारले नेपालमा प्रसारण हुने विदेशी च्यानल ७ कात्तिकदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने बाध्यात्मक व्यवस्था लागू गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २८ असोजमा (बुधबार) सरोकारवाला व्यवसायीलाई क्लिन फिड अनिवार्य कार्यान्वनयको निर्देशनसहितको विज्ञप्ति जारी गरेको छ।
विज्ञप्ति अनुसार विज्ञापन (नियमन गर्ने) ऐन २०७६ अनुसार नेपालमा नेपालमा विदेशी च्यानलसँग डाउनलिङ्ग गरी प्रसारण गर्न सम्झौता गरेका संस्थाहरूले विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ।
ऐन कार्यान्वयन गर्न दिएको एक वर्षको समय अनुसार ७ कात्तिकदेखि अनिवार्य विदेशी च्यानल क्लिन फिड हुनुपर्नेछ। ७ कात्तिकदेखि क्लिन फिड लागू नगरे कानून बमोजिम कारबाही हुने पनि सञ्चार मन्त्रालयल जानकारी दिएको छ।
सरकारले दिएको समयसीमा नजिकिँदै गर्दा इन्डियन ब्रोडकास्टर्स फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्यूज, नेपाल केवल टेलिभिजन महासंघ लगायतका संघ संस्थाबाट विज्ञापनरहित प्रसारणको समय थप गर्न आग्रह गर्न थालेका छन्।
सञ्चार मन्त्रालले भने ७ कात्तिकभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने कानूनी व्यवस्था भएको र ऐनले नै आवश्यक तयारीका लागि एक वर्षको समय दिएकोले अब थप समय दिन नमिल्ने स्पष्ट पारेको छ।
नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले भने कोभिड महामारीले सामान नआइपुगेको र आवश्यक तयारी गर्दागर्दै समय नपुगेकोले साढे चार महीना समय चाहिएको बताए।
पराजुलीका अनुसार सरकारले दिएको समय अनुसार नै व्यवसायीले आवश्यक उपकरण र प्राविधिक काम गरिरहेको भएपनि बन्दाबन्दीले काम गर्न नसकिएको, कतिपयको सामान आइनपुगेकाले पनि बन्दान्दीलाई शून्य समय मानेर बन्दाबन्दी अवधिभरको समय थप गर्न माग गरिएको छ।