लोक सेवा आयोगले सहसचिव र उपसचिवका लागि आवेदन माग्यो
लोक सेवा आयोगले संघीय संसद, निजामती सेवा र स्वास्थ्य सेवातर्फ सहसचिव तथा उपसचिव पदका लागि आवेदन खुला गरेको छ।राजपत्राङ्कित प्रथम र द्वितिय श्रेणी (प्राविधिक र अप्राविधिक), स्वास्थ्य सेवातर्फ नवौं र एघारौं तहका पदका लागि बुधबार आयोगले विज्ञापन खुलाएको हो।
कोरोनाभाइरस महामारीपछि गत चैतदेखि आयोगले आवेदन खुला गरेको थिएन। १८० भन्दा बढी सहसचिव र ४५० भन्दा बढी उपसचिव पदमा आयोगले आवेदन माग गरेको छ। माग गरिएका अधिकांश कोटा बढुवाबाट पदपुर्ति हुने किसिमका छन्।
पहिलो चरणको परीक्षा दिएकाहरूको दोस्रो चरणको परीक्षा पनि महामारीले स्थगित छन्। आयोगले आज खुलाएको विज्ञापन अनुसार परीक्षाका लागि १८ कात्तिकसम्म फारम भरिसक्नु पर्नेछ। आयोगको वेवसाइटमा गएर अनलाइनबाटै आवेदन दिन सकिनेछ।
दरखास्त दस्तुर राजपत्राङ्कित पहिलो श्रेणी र स्वास्थ्यतर्फ एघारौं तहका लागि एक हजार पाँच सय र राजपत्राङ्कित द्वितिय श्रेणी र नवौं तहका लागि एक हजार दुई सय रूपैयाँ बुझाउनु पर्ने आयोगले बताएको छ। परीक्षा मंसिरदेखि शुरू हुनेछ।
आयोगले १८ कात्तिकसम्म २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकले फारम भर्न सक्ने बताएको छ। तर, स्थायी निजामती कर्मचारीका हकमा भने उमेर हद लागू छैन।
कोरोना महामारीकै बीच आवेदन खुला गरेको आयोगले भर्खरै ‘संक्रमणको विषेश अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७’ ल्याएको छ। जसमा उक्त मापदण्डमा कोरोना संक्रमणकै अवस्थामा उम्मेद्वार (परीक्षार्थी) परीक्षामा सहभागी हुन नपाउने भनेपछि सर्वत्र आलोचना भइरहेको छ।
सूचना प्रविधि विज्ञ पदको लिखित परीक्षा स्थगित
सूचना प्रविधि विज्ञ पदको लिखित परीक्षा स्थगित भएको छ। लोक सेवा आयोगको नेपाल विविध सेवा, राप प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ पदको लिखित परीक्षा गत २९ साउनको निर्णय अनुसार २९ र ३० असोजमा तोकिएको थियो।
तर, सर्वोच्च अदालतले मंगलबार ‘निवेदनको अन्तिम टुंगो नलागेसम्म नेपाल विविध सेवा, राप प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ पदको काम कारवाही जे जुन अवस्थामा छ सोही अवस्थामा राख्नु’ भन्ने अन्तरिम आदेश जारी गरेको थियो। सोही आदेश अनुसार लिखित परीक्षा स्थगित भएको लोक सेवा आयोगले सूचना सार्वजनिक गरेको छ।