वडा-वडाबाट स्वाब संकलन गर्दै काठमाडौं महानगर
कोरोनाभाइरस संक्रमणको दर बढ्दै गएको उपत्यकामा काठमाडौं महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको वडा-वडाबाट स्वाब संकलनमा तिव्रता दिएको छ।
महानगरपालिकाले शहरी स्वास्थ्य महाशाखासँगको समन्वयमा संक्रमितको ट्रेसिङमा परेका व्यक्तिहरूको खोज गरी स्वाब संकलन गरिरहेको छ।
संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी गरी महानगरका सम्पूर्ण वडाहरूले आफ्नो क्षेत्रभित्र पर्ने स्थानमा स्वाब संकलन गरिरहेका छन्। एक स्थानमा कम्तिमा २०० जना ट्रेसिङमा परेका व्यक्तिहरूको स्वाब संकलन भइरहेको काठमाडौं-१७ का वडासचिव राजेश श्रेष्ठले बताए।
परीक्षण रिपोर्ट पोजिटिभ आएका व्यक्तिहरूलाई स्वास्थ्य सुरक्षाका सामाग्रीहरू पनि वितरण गरिरहेको उनले बताए। शहरी स्वास्थ्य महाशाखाका हेल्थ असिसटेन्ट तथा स्वाब कलेक्सन टीमका संयोजक ऋषि भुसालले महानगरपालिकाले शहरी स्वास्थ्य महाशाखासँग मिलेर स्वाब संकलनको काम गरिहेको बताए।
सरकारी मापदण्ड अनुसार १४ दिनमा सामान्यतया कोरोना निको भएको मानिने भएपनि कतिपय व्यक्तिहरूले दोहोर्याएर परीक्षण गर्दा कति लक्षण नदेखिए कति पटकसम्म परीक्षण गर्ने भन्ने कुरा चुनौतीका रूपमा रहेको बताए।
अहिले देशभरी नै कोरोना संक्रमितको संख्या बढिरहेको छ। काठमाडौं लगायतका उपत्यकाका तीन वटै जिल्लाहरूमा संक्रमणको दर देशका अन्य क्षेत्रभन्दा बढी छ। सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सुरुक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न अनुरोध गरिरहेको छ।
भीडभाड भएको ठाउँमा नगए, भौतिक दूरी कायम गरे, अनिवार्य रूपमा मास्क लगाएमा र बिना काम घर बाहिर ननिस्केमा संक्रमणको जोखिमबाट बच्न सकिने चिकित्सकहरूले बताएका छन्।