इन्भेष्टमेण्ट ब्यांक र सिटी एक्सप्रेस फाइनान्स गाभिँदै
नेपाल इन्भेष्टमेण्ट ब्यांक लिमिटेड र “ग” वर्गको फाइनान्स कम्पनी सिटी एक्सप्रेस फाइनान्स गाभिने भएका छन्। सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्ने प्रयोजनाका लागि बुधबार ब्यांकले केन्द्रीय कार्यालय दरबारमार्गमा विशेष साधारण सभा गरेको छ।
कोरोना महामारी फैलिन नदिन सरकारले बनाएको मापदण्ड अनुसार भौतिक दूरी कायम गर्दै भर्चुअल माध्यमबाट सभा गरिएको ब्यांकले जनाएको छ।
विशेष साधारण सभाबाट सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई १००ः३० अर्थात् सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता शेयर बापत नेपाल इन्भेष्टमेण्ट ब्यांक लिमिटेडको ३० कित्ता शेयर दिने शेयर स्वाप अनुपातमा सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई ब्यांकमा गाभ्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ
रू.४० करोड चुक्ता पूँजी रहेको सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्ने प्रक्रिया सम्पन्न भएपछि नेपाल इन्भेष्टमेण्ट ब्यांकको चुक्ता पूँजी रू. १४.३७ अर्ब हुनेछ। प्रवर्द्धकहरूको शेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारण शेयर स्वामित्व ३१.५२ प्रतिशत हुने ब्यांकले जनाएको छ।
नेपाल इन्भेष्टमेण्ट ब्यांक लिमिटेडले हाल ८३ वटा शाखा, १२५ वटा एटीएमहरू, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट सेवा प्रदान गरिरहेको छ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘ब्यांक अफ द इयर’ अवार्ड पाइसकेको इन्भेष्टमेण्ट ब्यांक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट ब्यांक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ।
यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।