कोरोना सन्त्रासः दशैंको बेला पनि छैनन् लामो दूरीका यात्रु
सामान्य अवस्थामा दशैँ शुरु हुने वेला लामो दूरीका लागि सवारी साधन थप्ने यातायात व्यवसायी यसपटक संचालनमा रहेकै गाडीमा यात्रु कम भएको बताउँछन्।
सामान्य अवस्थामा दशैँ शुरु हुने वेला लामो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको चाप हुन्थ्यो। घर फर्कने टिकट लिन रातभरि लाइनमा बस्नुपर्ने बाध्यता समेत हुन्थ्यो। यो वर्ष अवस्था फरक छ। कोरोनाभाइरस संक्रमण फैलिँदै जाँदा सवारी साधनले यात्रु नै पाएका छैनन्।
कोरोना संक्रमण तीव्र फैलिइरहेकाले सरकारले समेत यथास्थानमा दशैं मनाउन आग्रह गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कमाचार्यका अनुसार अहिले दैनिक करीब ३० हजार यात्रु उपत्यका भित्रिने र बाहिरिने गरिरहेका छन्। सामान्य अवस्थाको दशैँमा यो संख्या करीब एक लाख हाराहारी हुन्थ्यो। उनी भन्छन्, “यात्रुको चाप हुने समयमा सुनसान छ। कोरोनाको कारण मान्छेहरु घर जान/आउन डराएका छन्।”
विगत वर्षहरुमा दशैं आउनुअघि टिकट अग्रिम बुकिङ गर्न यातायात व्यवस्था विभागले अनुमति दिन्थ्यो। संचालनमा रहेका सवारी साधन अपर्याप्त हुने हुँदा थप गर्नका लागि पनि अनुमति दिन्थ्यो। त्यसका लागि अस्थायी ‘रुट परमिट’ पनि दिइने गरिएको थियो। तर, यो वर्ष लामो दूरीमा चलिरहेका सवारी साधनमध्ये करीब ३० प्रतिशत मात्रै संचालनमा रहेको अध्यक्ष कर्माचार्य बताउँछन्। उनी भन्छन्, “यात्रुहरु नै छैनन्, गाडी निकालेर के गर्नु? निकालिएका गाडीले समेत यात्रु पाईरहेका छैनन्।”
कुनै पनि स्थानमा जाने यात्रुले ‘बस सेवा’ बाट अनलाइन टिकट काट्न वा बुकिङ गर्न सक्छन्। बस सेवाले विगत वर्षहरुमा यो समय दैनिक ३५ सयदेखि चार हजार टिकट बिक्री तथा बुकिङ गथ्र्यो। यो वर्ष ३०० हाराहारीमा मात्रै बिक्री तथा बुकिङ गरिरहेको प्रबन्धक मोहन बेलबासे बताउँछन्। उनी भन्छन्, “यो वर्ष कोरोनाको कारण सबैमा त्रास छ। बालबालिकासहित यात्रा गर्नुपर्ने अथवा घरमा बृद्घाबृद्घ तथा बालबालिका हुने भएकाले अधिकांशले यथास्थानमै दशैं मनाउन लागेको हुनसक्छ।”
सप्तकोशी यातायातका कर्मचारी सबिन राजभन्डारी यो वर्ष ६० प्रतिशतले यात्रुको संख्या घटेको बताउँछन्। सप्तकोशी यातायातले काठमाडौँबाट पूर्व लामो दूरीका माइक्रोबस सञ्चालन गर्छ। १६ जनाको सिट क्षमतामा अहिले आठ जना मात्रै राखेर माइक्रोबस चलाइरहेको उनको भनाइ छ।
राजभण्डारीका अनुसार यात्रु घट्नुको एउटा कारण सात महीनादेखि शैक्षिक संस्थाहरु बन्द हुनु पनि हो। बन्दाबन्दीअघि र त्यहीबीचमा पनि काठमाडौँबाहिरका अधिकांश विद्यार्थी घर फर्किसकेका छन्। दशैँमा घर फर्कने विद्यार्थीको चाप यो वर्ष नभएको उनको भनाइ छ।
बन्दाबन्दी हुने भएपछि मजदुर तथा विद्यार्थीहरु त्यसअघि नै गृहजिल्ला फर्किएका थिए। कतिपय मजदूर बन्दाबन्दी खुकुलो भएपछि काठमाडौँ फर्किए पनि विद्यार्थी फर्किएका छैनन्। गएको १ असोजमा लामो दूरीका यातायात खुलेपछि उपत्यका फर्केकाहरु कोरोनाको त्रासले दशैंमा घर नजाने सम्भावना छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले लामो दूरीका सार्वजनिक यातायातमा सिट अनुसार यात्रु बोक्न दिने निर्णय गरेको छ। यसअघि भौतिक दूरी कायम गरेर मात्र यात्रु बोक्न दिन निर्णय गरेको थियो। यसले यात्रुमा झनै त्रास बढाउने राजभन्डारीको भनाई छ। उनी भन्छन् “सबै सिटमा यात्रु राख्ने हो भने स्वास्थ्य सुरक्षाको मापदन्ड कसरी पालना गराउने? यसले त झन् घर जाने सोच बनाएकाहरु पनि दोधारमा पर्ने भए।”
राप्ती यातायातले काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाका यात्रुलाई बस सेवा दिँदै आएको छ। सामान्य अवस्थामा दशैंको समयमा अन्य बस पनि थप्ने राप्ती यातायातले यो वर्ष भएका बसमा समेत यात्रु नपाइरहेको कर्मचारी अर्जुन केसी बताउँछन्। उनी भन्छन्, “विगतको तुलनामा २५ प्रतिशत मात्रै यात्रु छन्। सबै बस खाली चलिरहेका छन्।”