मलका लागि रातभर लाइनमा बस्छन् किसान तर, पाउँदैनन् मागबमोजिम
धान बालीका लागि आवश्यक मलको अभाव खेपेका कैलालीका किसान हिउँदे बालीका लागि चाहिने मलका लागि पनि उस्तै सास्ती खेपिरहेका छन्। मल वितरण केन्द्रमा रातभर लाइन बसेपछि किसानले मागबमोजिम मल पाइरहेका छैनन्।
कैलालीको कैलारी गाउँपालिका-९, कोइलहीकी देसनी चौधरी रासायनिक मलका लागि सहकारी संस्थामा लाइन बस्न पुगिन्। उनी तोरी, आलुलगायत हिउँदे बालीलाई चाहिने डीएपी मल आएको खबर सुन्नेबित्तिकै वितरण केन्द्रमा पुगेर रातभर लाइनमा बसिन्।
देसनी मात्रै होइन, मल लिन सयौं किसान रातिदेखि नै लाइनमा थिए। स्थानीय परिश्रम कृषि सहकारी संस्थामा मल आएको सूचना पाउने बित्तिकै उनीहरू रातभर लाइनमा बस्न पुगे। हरेक सिजनमा मलको लागि यसरी नै लाइनमा बस्दै आएका उनीहरू हाल हिउँदे सिजनमा पनि लाइनमा बस्न बाध्य भएको बताउँछन्।
“थोरै मल आउँछ। लिने मान्छे धेरै हुन्छन्। मलबिना फसलै हुन्न। के गर्नु ?”, देसनीले भनिन्। कैलालीको धनगढी उपमहानगरपालिका-१६ भादाका कृषक देशराज चौधरी पनि राति २ बजे १ बोरा मलको लागि सहकारी संस्थामा अरु किसानसँगै उभिएका थिए। कैलारी गाउँपालिका–९ स्थित परिश्रम कृषि सहकारी संस्थामा रासायनिक मल लिन पुगेका उनी रातभर लामवद्ध थिए। रातभर लाइनमा बसेर १ बोरा मल पाएपछि उनी दंग देखिन्थे।
किसानहरू कोराना कहरबीच पनि मलको लागि जोखिम मोलेर लाइनमा बस्दै आएका छन्। कैलारी गाउँपालिका–६ बेनौलीका कृषक राजाराम महतोले आफूहरूको समस्या ज्यूँका त्यूँ रहेको बताए। हरेक आर्थिक वर्षमा कृषि क्रान्ति समेटिएको नीति तथा कार्यक्रम र बजेट भाषण गर्ने सरकार यथार्थमा किसानको पीडाप्रति गम्भीर नभएको उनको गुनासो छ।
सहकारीका व्यवस्थापक रामसमझ चौधरी पर्याप्त मात्रामा मलको आपूर्ति नहुँदा हरेक सिजनमा मलको अभाव हुँदै आएको बताउँछन्। माग अनुसारको मल नआउँदा सबै कृषकलाई थोरै मात्रामा मल वितरण गर्दै आएको उनले बताए।
धान सिजनमा पनि मलको अभाव झेलेका कृषकहरू हिउँदे सिजनमा पनि अभाव झेलिरहेका छन्। हाल कैलालीमा मात्रै होइन, सुदूरपश्चिमभर मलको चरम अभाव छ। सुदूरपश्चिम प्रदेशमा कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसनले ३० प्रतिशत मलको आपूर्ति गर्दै आएको छ। तर, हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडले मलको आपूर्ति गर्न सकेको छैन।
मल आपूर्ति गर्न नसक्नुको मुख्य कारण कोरोना कहर भन्दै पन्छिने गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले कोरोनाका कारण मल ल्याउन नसकेको बताए। डीएपी र युरिया चाहिने सिजनमा कृषि सामग्री कम्पनी लिमिटेड धनगढीसँग हाल पोटास मात्रै रहेको छ। प्रमुख बोगटीले ३०० टन पोटास मौज्दात रहेको बताउँदै दशैंपछि मात्रै डीएपी र युरियाको आपूर्ति हुने बताए।
सुदूरपश्चिम प्रदेशमा ३० प्रतिशत मलको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङले भने केही मात्रा आपूर्ति थालेको छ। तर, ३० प्रतिशत आपूर्तिले माग धान्न सकिने अवस्था छैन।
साल्ट ट्रेडिङ कर्पोरेसन सुदूरपश्चिममा हिउँदे सिजनको लागि जम्मा १५ हजार मेट्रिक टन मल ल्याउने क्रममा रहेको छ। गहुँको लागि युरिया मल ५ हजार ५२३ मेट्रिक टन, त्यसमा पनि कैलालीको लागि सबैभन्दा बढी १ हजार ४९१ मेट्रिक टन ल्याइने बताइएको छ। डीएपी मल ३ हजार ७१७ मेट्रिक टन ल्याइनेछ। जसमा कैलाली जिल्लाको लागि ९८७ मेट्रिक टन मंसिर १५ गतेसम्म आउने भएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका प्रमुख केशवप्रसाद पाण्डेले आफूहरूले पाएको कोटा बमोजिम आपूर्ति थालेको बताए। तर, ३० प्रतिशतले माग धान्न नसकिने अवस्था रहेको उनले सुनाए। कर्पोरेसनले अहिलेसम्म २ हजार ७८८ मेट्रिक टन मलको आपूर्ति गरिसकेको प्रमुख पाण्डेले बताए।