मोरङ र महोत्तरीका दुई जना कोरोना संक्रमितको मृत्यु
मोरङ र महोत्तरीका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङको बूढीगङ्गा गाउँपालिका–३ का ६० वर्षीय र महोत्तरीको पिपरा गाउँपालिका–५ चाँदनीचोक बस्ने २५ वर्षीय पुरुषको मृत्यु भएको हो।
कोरोना सङ्क्रमित मोरङका पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो। बुढीगङ्गास्थित् शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत उनको मंगलबार राति राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले बताए।
उनलाई १५ असोजमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो। उनी श्वासप्रश्वास र मृगौलासम्बन्धी दीर्घ रोगका बिरामी थिए।
महोत्तरीका युवकमा मिर्गौलाको समस्या थियो। उनलाई २२ असोजमा भक्तपुरस्थित् मानव अङ्ग प्रत्यारोपण केन्द्र जोरपाटीमा उपचारका लागि भर्ना गरिएको थियो।
२३ असोजमा पीसीआर परीक्षण गर्दा उनलाई २६ असोजमा कोरोना पोजिटिभ भएको रिपोर्ट आएको थियो। उनको पनि मंगलबार नै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।