हुम्लाको लिमीमा खाद्य संकट, १८० घरका लागि ३०० क्विन्टल चामल पठाइयो
हिमालपारीको गाउँ भनेर चिनिने हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा खाद्य संकट भएपछि ३०० क्विन्टल चामल पठाइएको छ। चीनसँगको सीमानाका बन्द भएर खाद्यान्न सामग्री आयात नहुँदा त्यहाँ खाद्य सङ्कट भएको हो।
लिमी क्षेत्रका तीन, जाङ र हल्जीगाउँका १८० घरधुरीका लागि मङ्गलबार ३०० क्विन्टल चामल पठाइएको हो। नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङको रोहवरमा खाद्य संस्थान हुम्ला शाखाले खाद्यान्न पठाएको कार्यालय प्रमुख रामबहादुर विष्टले जानकारी दिए।
खाद्य संकटपछि लिमीका तीन वटै गाउँका स्थानीयले विभिन्न सरोकारवाला निकाय, राजनीतिक दललगायतमार्फत खाद्यान्नको माग गरेका थिए। हुम्लाका विभिन्न निकायले पहल गरेलगत्तै खाद्य संस्थान हुम्लाले केन्द्रीय कार्यालयमा पाँच हजार क्विन्टल खाद्यान्न माग गरेको थियो।
तर, ३०० क्विन्टल चामल मात्रै स्वीकृत भएपछि ढुवानी गर्न शुरुआत गरिएको हो। थप खाद्यान्नका लागि पनि पहल गरिरहेको संस्थानका प्रमुख विष्टले बताए।