विश्वकप छनौट खेलमा ब्राजिल र अर्जेन्टिना विजयी, उरुग्वे पराजित
विश्वकप छनौट प्रतियोगिता अन्तर्गत दक्षिण अमेरिकी समूहका बुधबार बिहान भएका खेलमा ब्राजिल र अर्जेन्टिना विजयी भएका छन्। उरुग्वे भने पराजित भएको छ।
भर्खरै सकिएको खेलमा ब्राजिलले पेरुलाई उसकै मैदानमा ४–२ गोल अन्तरले पराजित गरेको छ। ब्राजिलका लागि नेयमारले ह्याट्रिक गरे भने रिचार्लिसनले एक गोल थपे। नेयमारले दुई गोल पेनाल्टीबाट गरेका हुन्।
पेरुले घरेलु मैदानमा पाएको दुई पटकको अग्रता जोगाउन सकेन। उसका लागि आन्द्रे कारिल्लोले छैटौँ मिनेटमा नै गोल गरेका थिए। २८औँ मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गरेर खेल बराबरीमा ल्याए।
५९औँ मिनेटमा रेनाटो तापियाले पुनः पेरुलाई अग्रता दिलाएका थिए। तर, ६४औँ मिनेटमा नै रिचार्लिसनले ब्राजिललाई बराबरीमा ल्याए। त्यसपछि ८३ र ९०औँ मिनेटमा नेयमारले गोल गरे।
अन्तिम समयतिर खेल तनावपूर्ण भएको थियो। पेरुका दुई खेलाडीले रातो कार्ड पाएका थिए। ८६औँ मिनेटमा कार्लोस कासेडा र ८९औँ मिनेटमा कार्लोस जाम्ब्रानोले रातो कार्ड पाएर मैदान छाडेका थिए।
त्यसअघि आज बिहानै सकिएको अर्को खेलमा अर्जेन्टिनाले बोलिभियालाई २–१ गोल अन्तरले पराजित गरेको छ। बोलिभियाको राजधानी लापाजमा भएको खेलमा अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले ४५औँ र जोक्विन कोरियाले ७९औँ मिनेटमा गोल गरेका थिए।
शुरुआती अग्रता भने बोलिभियाले लिएको थियो। उसका लागि मार्सेलो मोरेनोले २४औँ मिनेटमा गोल गरेका थिए।
लापाज समुन्द्र सतहबाट तीन हजार ६४० मिटर उचाइमा छ। अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्स भने २५ मिटरको उचाइमा छ। उचाइका कारण लापाजमा फूलबल खेल्न अन्य देशका खेलाडीलाई समस्या हुने गरेको छ।
उता दुई पटकको विश्वविजेता उरुग्वे भने इक्वेडरसँग ४–२ गोलले पराजित भएको छ। इक्वेडरले घरेलु मैदानमा १५, ४५, ५३ र ७५औँ मिनेटमा गोल गरेको थियो। त्यसपछि उरुग्वेका लागि लुइस सुआरेजले ८४ र ९०औँ मिनेटमा गोल गरेका थिए। उनले दुवै गोल पेनाल्टीबाट गरेका हुन्।
अन्य खेलमा पाराग्वेले भेनेजुएलालाई उसकै मैदानमा १–० गोलले पराजित गरेको छ। चिली र कोलम्बियाले भने २–२ गोलको बराबरी खेलेका छन्।