मुख्यमन्त्री शाहीसहित कर्णालीका नेतालाई नेकपाले काठमाडौं बोलायो, अविश्वास प्रस्ताव दर्ता गर्ने समूह अडानमै
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि नेकपा नेतृत्वले छलफलका लागि मुख्यमन्त्री शाहीसहित कर्णाली प्रदेशका नेकपा नेताहरूलाई काठमाडौं बोलाएको छ।
अविश्वास प्रस्ताव दर्ताको अगुवाई गरेका नेकपा नेता एवम् कर्णाली प्रदेशका सह इन्चार्ज यामलाल कंडेलले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पत्रमार्फत आफूलाई छलफलका लागि काठमाडौं बोलाएको जानकारी दिए।
कर्णाली प्रदेशका नेकपाका १८ जना साँसदहरूले आइतबार पार्टीको संसदीय दलमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। अविश्वास प्रस्ताव दर्ता गरेपछि कर्णाली प्रदेशको राजनीति तरंगित बनेको छ।
“हाम्रो पूर्ववत मान्यता यथावत छ, पार्टी र सरकारमा देखिएका विषयको छलफल गर्ने स्थान मात्र परिवर्तन भएको हो”, कंडेलले भने, “यहाँका समस्याका बारेमा नेकपा कर्णाली प्रदेश संसदीय दलमा छलफल नभएर काठमाडौं नेताहरूको उपस्थितीमा छलफल हुने भयो। मुद्दाहरु यथास्थितीमै छन्।”