कोरोना महामारीपछि बजारमा मूल्यवृद्धि नभएको मन्त्री भट्टको दाबी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको दाबी गरेका छन्। नेपाल चेम्बर अफ कमर्सको ७० औं दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि नभएको बताएका हुन्।
उनले लामो समय बन्दाबन्दी भएपछि खुलेको बजारमा कुनैपनि खाद्यान्न लगायत दैनिक रुपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको दाबी गरे। तर विश्व बजारमा नै केही वस्तुमा मूल्य वृद्धि भएकाले नेपालमा पनि एक दुईवटा वस्तुमा मूल्य वृद्धि हुनु स्वभाविक भएको मन्त्री भट्टले बताए। "अहिले पनि बजार आफ्नो गतिमा छ। त्यसैले कहिं पनि समस्या आएको छैन्। केही वस्तुमा विश्वमै मूल्य बढेपछी बढ्यो होला नत्र खाद्यान्न लगायत दैनिकी वस्तुहरूमा महँगाई भन्ने छैन। अव एकाध वस्तुमा हुने स्वाभाविक हो, हिजो पनि हुन्थ्यो।", मन्त्री भट्टले भने।
अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यान केन्द्रीत भएको पनि उनले बताए। निर्यात कसरी बढाउने, उत्पादनलाई कसरी बढाउने र लगानीलाई कसरी भित्र्याउने भन्ने विषय नै देशका लागि महत्वपूर्ण भएको मन्त्री भट्टले बताए।
आफूले मन्त्रालय सम्हालेदेखि व्यवसाय मैत्री वातावरण बन्दै गएको दावी समेत मन्त्री भट्टले गरे। कर र राजस्वका विभिन्न विषयमा सुधार गरी उद्योग र व्यापार सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार तत्पर रहेको उनले बताए।