कर्णालीको मन्त्रिमण्डल पुनर्गठनका लागि माधव नेपाल समूहले पठायो तीन जनाको नाम
वरिष्ठ नेता माधवकुमार नेपाल समूहले कर्णाली प्रदेशको मन्त्रिमण्डल पुनर्गठनका लागि आफ्ना तीनजना नेताहरूको नाम पठाएको छ।
मुगु-२ बाट विजयी चन्द्रबहादुर शाही, जाजरकोट-२ बाट विजयी करविर शाही र दैलेख-२ बाट विजयी अमरबहादुर थापाको नाम नेपाल समूहले मन्त्रीका लागि पठाएको हो।
मुख्यमन्त्री समेत र हेका दलका नेता शाहीविरुद अविश्वास प्रस्ताव आएपछि कर्णाली प्रदेश सरकारमा समस्या उत्पन्न भएको थियो। शाहीविरुद्ध हस्ताक्षर गर्ने १८ जना सांसदमध्ये वरिष्ठ नेता नेपाल समूहका सांसदहरूले पछि हटेपछि अहिले सरकार पुनर्गठनलगायत विषयमा भागबण्डा गर्ने सहमति भएको छ।
नेकपाका कर्णाली प्रदेश सचिव मायाप्रसाद शर्मा, केन्द्रीय सदस्य निरज आचार्य, नेकपा सुर्खेतका अध्यक्ष ध्रुब शाही, प्रदेश सभा सदस्य बिन्दमान बिष्ट लगायतका नेताहरूबीच भएको छलफलपछि नेपाल समूहले शाहीलाई नै साथ दिने सहमति भएको हो। यससँगै मुख्यमन्त्री शाहीको सत्तासंकट टरेको छ।
यसअघि संसदीय दलका नेता समेत रहेका शाहीविरुद्ध हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसद केन्द्रको निर्देशनपछि पछाडि हटेका छन्। आइतबार नेकपाका १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा हस्ताक्षर बुझाएका थिए। जसमा ३ जना पूर्वमाओवादी समूह र ७ जना नेपाल समूहका थिए।
नयाँ सहमति अनुसार अब कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ। जसमा नेपाल समूहले ३ मन्त्री पाउने सहमति भएको छलफलमा सहभागी एक नेताले हिमालखबरलाई बताए। उनका अनुसार नेपाल समूहले सचेतक समेत पाउनेछ। यसअघि प्रदेश सरकारमा नेपाल समूहका एक जना मात्र मन्त्री थिए।
सहमतिपछि नेपाल समूह प्रदेश सभा सदस्य यामलाल कँडेल समूहले गर्न लागेको संसदीय दलका बहुमत सदस्यको बैठकमा सहभागी भएको छैन। मंगलबार दिउँसो दलको कार्यालय वीरेन्द्रनगरमा बैठक बोलाइएको थियो।