कर्णालीका मुख्यमन्त्रीविरुध्दको अविश्वास प्रस्तावबारे संसदीय दलमा छलफल हुँदै
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका नेता एवं कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्तावबारे संसदीय दलमा छलफल हुँदैछ।
आइतबार संसदीय दलमा पेश गरिएको उक्त प्रस्तावबारे मंगलबार छलफल हुन लागेको हो। पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ गरि १८ सांसदले दलका नेता शाहीविरुद्ध प्रमुख सचेतक गुलाबजंग शाहसमक्ष अविश्वासको प्रस्ताव पेश गरेका थिए। तर, मुख्यमन्त्री शाहीले सोमबार प्रमुख सचेतक शाहलाई जिम्मेवारीबाट हटाउँदै सचेतक सीता नेपालीलाई प्रमुख सचेत नियुक्त गरेका थिए।
अविश्वासको प्रस्ताव आइसकेपछि प्रमुख सचेतक फेरेको भन्दै बहुमत सांसदहरूले त्यसलाई नमान्ने बताएका छन्। सोहीअनुसार मंगलबार शाहले प्रमुख सचेतकका रूपमा छलफल चलाउँदैछन्। यसअघि मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
सोमबार नियुक्त भएकी सचेतक नेपालीले भने ७ असोजमा दलको बैठक बोलाएकी छन्। मंगलबारको बैठकमा मुख्यमन्त्री शाही पक्षका सांसदहरू भने सहभागी हुने छैनन्।
कर्णालीमा देखिएको विवादबारे सोमबार नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो। सोमबार नै अध्यक्ष दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि यो विषयमा छलफल गरेका थिए।
कर्णालीमा देखिएको समस्या समाधानबारे नेताहरूबीच केन्द्रमा सहमति बन्न सकेको छैन भने प्रदेश सांसदहरूले केन्द्रको निर्णय नमान्ने बताउँदै आएका छन्।