ट्रम्पको स्वास्थ्यलाभको कामना गर्दै ब्रत बसेका भारतीय नागरिकको हृदयघातले मृत्यु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यलाभको कामना गर्दै ब्रत बसेका एक भारतीय नागरिकको हृदयघातका कारण मृत्यु भएको छ। ट्रम्पलाई कोरोना संक्रमण भएको सुनेपछि ट्रम्पको स्वास्थ्यलाभको कामना गर्दै निराहार ब्रत बसेका भारतको तेलंगना राज्यका ३६ वर्षीय बुसा कृष्ण राजुको मृत्यु भएको हो।
ट्रम्पलाई अक्टोबर १ मा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यो खबर सुनेका राजुले एक हप्तादेखि केही पनि नखाएर ट्रम्पको स्वास्थ्यलाभको कामना गरेका थिए। ट्रम्पलाई कोरोना भएको खबर सुनेपछि राजु निकै दुःखी भएको उनका परिवारका एक सदस्यले बताएका छन्। त्यो खबरपछि राजु राति सुत्न छोडिदिए भने खाना पनि खाएनन्। उनले केवल ट्रम्पको स्वास्थ्यलाभको कामना गरिरहे।
राजुको परिवारका अनुसार उनले आइतबार आफन्तकोमा चिया खाएका थिए। त्यसपछि उनी बेहोस भए। लगत्तै उनलाई अस्पताल लगिएपनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
राजुका परिवारका अनुसार उनले ट्रम्पलाई भगवान मान्दथे। उनले अघिल्लो वर्ष आफ्नो निवासमा ट्रम्पको ६ फिट अग्लो मुर्ति समेत बनाएर पूजा गर्दै आएका थिए। ट्रम्पले आतंकवादविरुद्ध मुख्य भूमिका खेलेको भन्दै राजुले उनको मुर्ति बनाएका थिए। र, उनले आफ्नो निवासलाई ‘ट्रम्प मन्दिर’ भनेर उल्लेख गरेका थिए। उनले मुर्ति स्थापना गर्नुअघि नै ट्रम्पको पूजा थालिसकेका थिए। केही सञ्चारमाध्यमसँगको कुराकानीमा राजुले ट्रम्प आफ्नो सपनामा आएपछि पूजा गर्न थालेको बताएका थिए।
समाचार एजेन्सीहरूका अनुसार ट्रम्प अघिल्लो वर्ष भारत भ्रमणमा आएका बेला राजुले भेट्ने चाहना राखेका थिए। तर, उनले भेटन् पाएनन्। पछिल्लो समय उनले अमेरिकी निर्वाचनमा ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित होऊन् भनेर कामना गर्दै आएका थिए।
ट्रम्पलाई यतिविघ्न सम्मान गर्ने राजु एक्ला भारतीय भने होइनन्। यसअघि हिन्दु सेना, दक्षिणपन्थी फ्रिन्ज समूह लगायतले ट्रम्पको स्वागतका लागि गीत तयार पारेका थिए। ट्रम्पको जन्मदिन मनाएका थिए। फोटो प्रदर्शनीहरू गरेका थिए। र, उनीहरूले ट्रम्पको पोस्टरलाई ‘केक खुवाएका’ थिए।
हिन्दु सेनाका सदस्यहरूले मुलसमानप्रति अनुदार धारणा राख्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग घनिष्ट सम्बन्ध भएका कारण ट्रम्पको समर्थन गरेको बताएका छन्। उनीहरूले पनि ट्रम्प पुनःनिर्वाचित होऊन् भनेर कामना गर्ने गरेका छन्।