प्रभुको नयाँ हेलिकप्टरले पायो उडान अनुमति, कम्पनीले ५ बर्षमा भित्र्यायो ६ हेलिकप्टर
प्रभु हेलिकप्टरले ल्याएको 'एच १२५ एएस ३५० बी ३ ई' एअरबस हेलिकप्टरले उडान अनुमति पाएको छ। ११ चैत्रमा काठमाडौं ल्याएको भएपनि बन्दाबन्दीका कारण हवाई क्षेत्र नै ठप्प रहेकोले नयाँ हेलिकप्टरले उडान अनुमति पाएको थिएन।
बन्दाबन्दी खुलेपछि नागरिक उड्डयन प्राधिकरणले यसलाई उडान अनुमति दिएको हो। स्थापनाको पाँच बर्षमा यो कम्पनीले एअरबससहित ६ वटा हेलिकप्टर भित्र्याएको छ।
प्रभुले यसअघि तय गरेको योजना अनुसार नै नयाँ हेलिकप्टर भित्र्याएको र त्यसले उडान अनुमतिसमेत पाएको प्रभु हेलिकप्टरका उपमहाप्रवन्धक नोबलकुमार राजलवटले जानकारी दिए।
प्रभुले भित्र्याएको ९ एन–एनएलई हेलिकप्टर ६ सिट क्षमताको हो। २३ हजार फिटसम्मको उचाइसम्म उडान गर्न सक्ने क्षमता र नेपालको भू-वनोट अनुसार उपयुक्त भएकोले यसलाई भित्र्याएको प्रभुले जानकारी दिएको छ।
प्रभु सन् २०१५ मा अमेरिकाले बनाएको रबिन्सन आर ४४ पिस्टक इञ्जिन हेलिकप्टरबाट उडान शुरू गरेको वायुसेवा कम्पनी हो। प्रभुले ३ बर्षभित्रै चार वटा नयाँ रोबिन्सन आर ६६ टर्बाइन हेलिकप्टर थपेको थियो, हाल यसका हेलिकप्टर ६ वटा पुगेका छन्।
हिमाली क्षेत्रको दृश्यावलोकन र धार्मिक क्षेत्रमा पर्यटकीय उडान गर्दै आएको प्रभु हेलिकप्टरले पोखराबाट अन्नपूर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्प, मर्दी हिमाल, मुक्तिनाथ, रारा र काठमाडौंबाट लुक्ला, पाथीभरा, हलेसी महादेव, कालिन्चोक सहितको गन्तव्यमा सेवा दिँदै आएको छ।