लिलामी सिद्धान्तमा योगदान दिने दुई अमेरिकी अर्थशास्त्रीलाई नोबेल पुरस्कार
अमेरिकी अर्थशास्त्रीद्धय पौल आर मिल्ग्रोम र रोवर्ट बी विल्सनले सन् २०२० को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन्।
लिलामी सिद्धान्तको सुधार तथा नयाँ लिलामी प्रारुपको आविश्कारका लागि यी दुई अर्थशास्त्रीलाई यो वर्षको नोबेल पुरस्कार दिइएको द रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उल्लेख गरेको छ। दुबै अर्थशास्त्री अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयसँग सम्बन्धित छन्।
लिलामी सिद्धान्तको सुधारमार्फत विक्रेता, खरिदकर्ता तथा कर प्रशासनलाई सहयोग गरेबापत यी दुई अर्थशास्त्रीलाई पुरस्कार दिइएको जनाइएको छ।
सन् १९६९ मा स्थापित यो प्रतिष्ठित पुरस्कार ५१ पटक दिइसकिएको छ। गत वर्ष यो पुरस्कार विश्वव्यापी गरिबी घटाउनमा योगदान दिएबापत अभिजित बनर्जी र इस्थर डफ्लोलाई दिइएको थियो । बनर्जी भारतीय मूलका अर्थशास्त्री हुन्।