नेकपामा मूठभेडको संकेत : आफूविरुध्द अविश्वास प्रस्ताव आएपछि कर्णालीका मुख्यमन्त्रीले पार्टीका प्रमुख सचेतकलाई हटाए
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूविरुद्ध आएको अविश्वासको प्रस्ताव दर्ता गरेका प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएका छन्। शाहलाई हटाएर प्रमुख सचेतकमा सीताकुमारी नेपालीलाई नियुक्त गरेका छन्।
मुख्यमन्त्री शाहीले जिम्मेवारीमुक्त गरेको पत्रमा शाहको काम सन्तोषजनक नभएको भन्दै आजसम्म गरेको कामको लागि धन्यवाद दिएको उल्लेख गरेका छन्। त्यस्तै नेपालीलाई थमाएको नियुक्ति पत्रमा पार्टी हितअनुकूल काम गर्ने विश्वाससहित जिम्मेवारी दिएको उल्लेख गरिएको छ।
यससँगै प्रमुख सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवाद थप चुलिंदै गएको छ।
सोमबार बिहान मात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका १८ जना सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव पेश गरेको भोलिपल्टै दाहाल ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।
उनीहरूबीच सोमबार बिहान करीब एक घण्टा कुराकानी भएको छ। नेकपा अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले दुई अध्यक्षको भेटबारे पुष्टि गरे। तर, उनीहरूबीच के कुरा भयो भन्ने बाहिर आएको छैन।
कर्णालीका मुख्यमन्त्री शाही तत्कालीन माओवादी केन्द्रको कोटाबाट मुख्यमन्त्री बनेका थिए। आइतबार अविश्वासको प्रस्ताव पेश गर्नेमा १५ जना पूर्वएमाले र ३ जना पूर्वमाओवादी केन्द्रका सांसद छन्।
ओली–दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा लामो समयदेखि छलफल चल्दै आए पनि कुनै टुंगो लागेको छैन। यहीबेला कर्णालीका मुख्यमन्त्रीविरुद्ध आफ्नै सांसदले अविश्वासको प्रस्ताव पेश गरेपछि नेकपामा संकट थप चुलिएको छ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपाका ३३ सांसद छन्। तीमध्ये पूर्वएमालेका २० र पूर्वमाओवादीका १३ जना रहेका छन्।
प्रमुख सचेतक गुलाबजंग शाह पदमुक्त गरिएको पत्र
सिताकुमारी नेपालीलाई जिम्मेवारीमा नियुक्त गरेको पत्र