कोरोना कहरमा आमाहरूको पिरलो– ‘आफू संक्रमित भइयो, बच्चालाई कहाँ राख्ने?’
आफूलाई कोरोना संक्रमण भएपछि बच्चालाई कहाँ लगेर सुरक्षित रूपमा राख्ने भन्ने विकल्प नहुँदा कतिपय संक्रमित बाबुआमाहरुले जोखिम मोल्दै आफैंसँग राख्ने गरेका छन्।
अनुभव १
‘मेरो ममताको छहारीमा न्यानो पार्दै स्तनपान गराउनुपर्ने तिमीलाई त्यसो गर्न सकिनँ छोरा, यो महामारीले तिम्रो बालअधिकार हनन भयो। ... मलाई सम्झीसम्झी रुँदै, कराउँदै, छटपटीमै बित्ने भयो यो वर्षको बाल दिवस तिम्रो... ...।’
कोरोनाभाइरस संक्रमित भएपछि अधिवक्ता राधिका खतिवडा २९ भदौमा फेसबूकमा लेखेको स्टाटस हो यो। राष्ट्रिय बाल दिवस मनाइँदै गर्दा दुई वर्षे छोरालाई आफन्तकहाँ छोडेर उनी आइसोलेसनमा बसेकी थिइन्।
संक्रमणमुक्त भएर १५ दिनपछि छोरासँग भेट्दा दूध चुस्नै बिर्सेर खान मानेन। उनले भनिन्, “कोरोना संक्रमण भएपछि आइसोलेसनमा बस्नुपर्दाको १४ दिन जस्तो सकस अरु केही भएन। चौबिसै घण्टा छोराको याद आउँथ्यो।” कोरोनाका कारण बच्चाले दूध चुस्नै छोडेको पीडा कहिल्यै भुल्न नसक्ने उनी बताउँछिन्।
अनुभव २
भक्तपुरकी देवी क्षेत्रीलाई १४ असोजमा कोरोना संक्रमण पुष्टि भयो। भोलिपल्टै श्रीमान् र ३ वर्षीया छोरीको पीसीआर परीक्षण गर्दा श्रीमान्को पोजिटिभ र छोरीको नेगेटिभ रिपोर्ट आयो। त्यसपछि शुरु भयो उनीहरुको तनाव।
घरमै आइसोलेसनमा बसेका उनीहरु श्रीमान्–श्रीमती तल्लो तलामा बसे। छोरीलाई सासूसँग माथिल्लो तलामा राखेको देवी बताउँछिन्। ममीको स्कूटरमा चढेर घुम्ने बानी परेकी छोरीले घरमाथिको बरण्डाबाट स्कूटर हेरेर ममी भन्दै रुन्थिन्। छोरीलाई त्यसअघि राति कहिल्यै छोडेको थिएन। छोरी राति सुत्न नमानेर रुवाबासी गर्न थालिन्। रुँदारुँदै छोरी निदाएपछि आफू पनि एकछिन निदाउने र छोरीको रुवाइ सुनेपछि भक्कानो छुट्ने गरेको उनी सुनाउँछिन्। “माथि नानी र आमा (सासू) रुने, तल म रुने। मेरो कपडा, ओढ्ने समाएर बस्न थालेकी थिइन् नानी, यो जस्तो सकस त के होला र ?”, उनले सुनाइन्।
पाँच दिनपछि छोरीलाई एक्कासी ज्वरो बढ्यो। औषधिले काम नगरेर शरीर शिथिल हुन थाल्यो, एम्बुलेन्सलाई खबर गर्दा ढिलाइ गर्यो। स्कूटरमा पछाडि श्रीमान्लाई छोरी समाउन लगाएर आफैंले अस्पताल लैजान खोजिन्। तर छिमेकीहरूले संक्रमितले बच्चा छुन हुँदैन, बाहिर निस्किन हुँदैन भनेर रोके।
पछि एक आफन्तलाई बोलाएर बाइकमा अस्पताल पुर्याई पीसीआर परीक्षण गर्दा छोरीलाई पनि पोजिटिभ रिपोर्ट देखियो। अहिले देवी, श्रीमान् र छोरी आइसोलेसनमै छन्। उनी भन्छिन्, “कोरोनाका कारण अलग–अलग बस्नुपर्दा यो उमेरका बच्चा, आमादेखि परिवारका सदस्यलाई साह्रै गाह्रो हुने रहेछ।”
अनुभव ३
सुर्खेतकी पत्रकार टीका विष्टलाई गएको महीना कोरोना संक्रमण भयो। डेढ वर्षमुनिको बच्चालाई छुट्टै राख्ने विकल्प थिएन, त्यसैले आफैंसँग राखिन्। सँगै बसेका कारण बच्चालाई पनि संक्रमण सरिसकेको लागेको र अन्यत्र कतै राख्ने ठाउँ नभएका कारण संक्रमित भइसकेपछि सँगै राख्न बाध्य भएको उनी बताउँछ्नि।
बच्चालाई दुई दिन जति पखाला लाग्यो। अरु समस्या भने आएन। पखाला ठीक भएकाले परीक्षण परीक्षण नगराएको बताउँदै उनी भन्छिन्, “बच्चालाई के गर्ने भन्ने सारै तनाव थियो, तर हामी आमा–छोरालाई धेरै स्वास्थ्य समस्या नदेखिएकाले डाक्टरसँगको सल्लाहमा घरमै आइसोलेसनमा बसेर १४ दिनमा नेगेटिभ रिपोर्ट आयो।”
अनुभव ४
काठमाडौं तीनकुनेमा १५ महीनाको बच्चाको आमा र बुवा कोरोना संक्रमित छिन्। डेरा गरी बस्ने उनीहरू तीन जनाले पीसीआर परीक्षण गराउँदा दुई जनाको पोजिटिभ रिपोर्ट आयो भने बच्चाको नेगेटिभ आयो। तर, उनीहरूले बच्चालाई सँगै राखेका छन्। काठमाडौंमा बच्चाको हेरचाह गरिदिने आफन्त कोही नभएको र भएकाहरूले डराएर राख्न नखोज्दा आफूसँगै राख्नुको विकल्प नभएको आमाले बताइन्।
संक्रमण नदेखिएका बच्चासँग एउटै कोठामा बस्नुको पीडा कस्तो छ त ? उनी भन्छिन्, “रातभरि पनि मास्क लगाएर सुत्छु। बच्चा निदाएपछि अर्कोपट्टि फर्केर अलि टाढा सुत्छु। दिनभरि मोबाइल र अन्य खेल्ने कुरातिर अल्मल्याए पनि बेलाबेला दूध खान आइहाल्छ, खानेकुरा पनि आफैंले खुवाउनुपर्छ।”
आइसोलेसन बसाइको एक साताको अनुभव उनका लागि नसोचेको भोगाइ बनिरहेको छ। भन्छिन्, “कोरोनाको डर त थियो, तर यस्तै होला भन्ने सोचेनछौं। कोरोना लागेको बाबुआमासँग नेगेटिभ रिपोर्ट भएको बच्चा राख्नुपर्दा पाप नै गरिरहेका छौं जस्तो लाग्छ, तर कुनै उपाय नभएपछि के गर्नु?”
आइसोलेसनमै बसिरहेका उनीहरुको स्वास्थ्य सामान्य छ।
अनुभव ५
भदौ पहिलो साता आफूलाई कोरोना संक्रमण भएपछि साढे दुई महीनाको बच्चा छोडेर आइसोलेसन सेन्टर जाँदाको क्षण सम्झिंदा विपन शाहको मनमा अझै पनि गाँठो पर्छ। ५ भदौमा अस्पतालबाट श्रीमान्लाई फोन आउँदा उनी अर्को कोठामा बच्चालाई दूध चुसाउँदै थिइन्।
फोनमा शाहको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको खबर आएको रहेछ। तर, श्रीमान्ले शुरुमा केही बताएनन्, बच्चा स्याहार्ने दिदीलाई बच्चा लिन भने। “दिदीले काखबाट बच्चा लैजानुभयो, म एक्कासी रुन थालें। पहाडले थिचेको जस्तो भयो, केही सोच्नै सकिनँ।”
श्रीमान् र काम गर्ने दिदीलाई बच्चा छोडेर उनी काठमाडौं टेकूको शुक्रराज अस्पतालको आइसोलेसन सेन्टरमा गएर बसिन्। बच्चासँग अलग भएर त्यहाँको पाँच दिनको बसाइ आफ्नो लागि वर्षौंको जस्तो लागेको उनी सम्झिन्छिन्।
“जीवनमा यति सकस त अरु कुनै हुँदैन होला। २/३ मिनेटको अन्तरमै फोनबाट बच्चाको बारेमा सोध्थें, कहिले भिडिओबाट हेर्थें”, विपनले भनिन्। पाँच दिनपछि परीक्षण गर्दा श्रीमान् र बच्चाको पनि पोजिटिभ आयो, त्यसपछि कोठामै आइन्। उनी घर पुग्दा बच्चालाई १०४ डिग्री ज्वरो आएको रहेछ, तत्कालै डाक्टरलाई भनेर सशस्त्र प्रहरीको बलम्बुस्थित कोभिड अस्पताल पुर्याएको उनी बताउँछिन्।
उनका अनुसार, उनी टेकू अस्पतालमा रहँदा घरमा श्रीमान्ले बच्चालाई टाढैबाट हेर्ने र बच्चा हेरचाह गर्ने दिदीले पनि ज्वरो आएको थाहा नपाएर समस्या भइसकेको रहेछ। “बच्चालाई त्यस्तो निन्याउरो अवस्थामा देख्दा त कसो बच्चा पनि पोजिटिभ भएकै कारण आफूले भेटेर समयमै उपचार गर्न पाएँ, नत्र के हुन्थ्यो भन्ने लाग्यो”, उनी भन्छिन्।
१० वर्षभन्दा बढीदेखि महिला, बालबालिकालाई मनोपरामर्श दिँदै आएकी शाहले धेरैको आत्मबल बलियो पारे पनि आफैंलाई बुझाउन भने नसकेको अनुभव गरिन्। “कोरोना लागेको भनेर सबैले एक्लो पार्दा रहेछन्, सहयोग गर्ने कोही पनि नहुँदा नितान्त एक्लो महसुस हुने रहेछ”, उनी भन्छिन्, “निश्चित मापदण्ड अपनाउँदा नसर्ने भएकाले सान्त्वना दिन नसकिने होइन, तर बुझ्नुपर्ने मान्छेले पनि बुझ्दा रहेनछन्।”
बच्चाबारे चासो
माथि उल्लेख गरिएका केही आमाहरुले आफूलाई कोरोना संक्रमण भएकोबारे सामाजिक सञ्जालमा पोस्ट गरे। त्यसपछि उनीहरुलाई आफन्त र साथीभाइबाट उठाउनै भ्याइनभ्याई हुने गरी फोन आयो। प्रायःले सबैभन्दा पहिला सोध्ने प्रश्न हुन्थ्यो, ‘बच्चा सुरक्षित छ, कहाँ राखेका छौ?’
पत्रकार विष्टले पनि संक्रमित भएपछि यस्तो चासो र चिन्ता धेरैबाट सुनिन्। हुन पनि, कोरोना संक्रमणले वयस्क मानिसहरूलाई नै समस्यामा पारिरहेको बेला केही गरी बालबालिकामा संक्रमण भए के होला, कसो होला भन्ने तनाव सानो हुँदैन। त्यस बाहेक पनि आमा वा बाबुलाई संक्रमण भए आइसोलेसन अवधिभरि बच्चालाई कहाँ राख्ने भन्ने थप आपत् आइलाग्छ।
सानो बच्चा हुने र एकल परिवार भएकाहरुलाई कोरोनाको त्रासभन्दा पनि बच्चाको व्यवस्थापनको पिरलो बढी हुने विष्ट बताउँछिन्। “एक त बच्चा हेरिदिने मान्छे हुुँदैनन्, बच्चा हेर्ने कोही भए पनि छुट्याएर राख्न बच्चा र हेर्ने व्यक्ति दुवैको लागि १४/१५ दिनको सकस भनिसाध्य छैन”, उनी भन्छिन्।
मनोपरामर्शकर्ता शाह परिवारका कुन सदस्यलाई कोरोना संक्रमण भएमा कसले के गर्ने भन्ने जस्ता कुरा सिकाउन जरुरी रहेको बताउँछिन्। साथै, संक्रमितलाई सहजता वा कठिनाइ हुनुमा समुदायको व्यवहारले पनि अर्थ राख्ने उनको भनाइ छ।
“संक्रमणले भन्दा पनि टोलछिमेकको दृष्टिकोण र व्यवहारले झन् असर पार्दो रहेछ”, उनी भन्छिन्, “कोरोनालाई त्रासको रुपमा मात्रै बुझाइयो, यसबाट आइपर्ने अप्ठ्यारोमा सहयोग गर्ने वातावरण सिर्जना गर्नेबारे जनचेतना पनि आवश्यक छ।”
‘संक्रमण भएका र नभएका एकै ठाउँ बस्नै हुँदैन’
प्रा.डा. शिवप्रसाद श्रेष्ठ, बालरोग विशेषज्ञ, वीरेन्द्र सैनिक अस्पताल, छाउनी
बच्चालाई संक्रमित व्यक्तिसँग कुनै पनि हालतमा राख्न हुँदैन। यस्तै, बच्चा संक्रमित हुँदा पनि आमा साथमा बस्न हुँदैन। आमालाई संक्रमण हुँदा सँगै रहेको बच्चालाई नसरेको पनि हुन सक्छ, त्यसैले जति सक्यो चाँडै छुट्याउनुपर्छ। त्यसैले बच्चा वा आमामध्ये एकजना संक्रमित भए पनि छुट्टाछुट्टै बस्नु वा राख्नुपर्छ।
बच्चा र आमा अलग भएर बस्दा गाह्रो भए पनि यो त स्वास्थ्य सुरक्षाकै लागि हो। आमा संक्रमित भए बच्चालाई सँगै राख्दा यदि उसको रोग प्रतिरोधी क्षमता कम भए संक्रमण सरेर बढी समस्या निम्तिन सक्छ। चौबीस घण्टाको बच्चालाई पनि संक्रमण भएको देखिएको छ। यस्तै, संक्रमित बच्चासँग आमा बस्दा पनि संक्रमण सरेर थप जोखिम हुनसक्छ।
संक्रमित भएका आमाहरुले दूध चुसाउँदैमा कोरोनाभाइरस बच्चालाई सर्छ भन्ने होइन, तर नसर्ने गरी दूध चुसाउने संभावना न्यून हुन्छ। श्वासप्रश्वासबाट भाइरस बच्चामा जान सक्छ। बच्चा देख्ने बित्तिकै खेल्ने, गालामा माया गर्ने आमाहरुको स्वतःस्फूर्त भावनाले भाइरस बच्चामा सर्ने जोखिम हुने भएकाले आइसोलेट भएर बस्नु जरुरी हुन्छ।
बच्चा र आमा अलग भएर बस्दा गाह्रो भए पनि यो त स्वास्थ्य सुरक्षाकै लागि हो। आमा संक्रमित भए बच्चालाई सँगै राख्दा यदि उसको रोग प्रतिरोधी क्षमता कम भए संक्रमण सरेर बढी समस्या निम्तिन सक्छ। चौबीस घण्टाको बच्चालाई पनि संक्रमण भएको देखिएको छ। यस्तै, संक्रमित बच्चासँग आमा बस्दा पनि संक्रमण सरेर थप जोखिम हुनसक्छ।
आमाको दूध मात्रै चुस्ने बच्चाका लागि दूध निकालेर आइसबक्समा राखेर खुवाउनुपर्छ। फ्रिजमा राख्यो भने २४ घण्टासम्म पनि खुवाउन सकिन्छ।
आमा र बच्चा दुवै संक्रमित भए कसरी सँगै राख्ने त भन्ने कुरामा पनि एकदमै ध्यान दिनुपर्छ। दुवै संक्रमित भए एउटै कोठामा त बस्न सकिन्छ, तर दूरी कायम गर्नैपर्छ। सुत्ने ओछ्यान फरक हुनुपर्छ। बच्चालाई छुने, काखमा राख्ने गर्न हुँदैन।
यसो गर्न किन आवश्यक छ भने, पहिलो कुरा त दुवै जनाको शरीरमा भाइरस एकैपटक प्रवेश गरेको नहुन सक्छ। अर्को, संक्रमणपछि कसैको सुधार चाँडो र कसैको ढिलो हुन्छ। कसैको शरीरबाट भाइरस चाँडै हट्न सक्छ, कसैमा लामो समयसम्म रहन्छ। र, लामो समयसम्म भाइरस रहनेबाट अर्को व्यक्तिमा ‘क्रस इन्फेक्सन’ हुने संभावना पनि हुन्छ। जुन युरोपका कतिपय देशहरुमा भइरहेको छ। त्यसैले जति सानो बच्चा भए पनि आमा र बच्चा दुवै संक्रमित भए निश्चित मापदण्ड पूरा गर्नुपर्छ।