कर्णालीका मुख्यमन्त्रीविरुध्द अविश्वासको प्रस्ताव आएको भोलिपल्टै दाहालले ओलीलाई भेटे
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका १८ जना सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव पेश गरेको भोलिपल्टै दाहाल ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।
उनीहरूबीच सोमबार बिहान करीब एक घण्टा कुराकानी भएको छ। नेकपा अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले दुई अध्यक्षको भेटबारे पुष्टि गरे। तर, उनीहरूबीच के कुरा भयो भन्ने बाहिर आएको छैन।
कर्णालीका मुख्यमन्त्री शाही तत्कालीन माओवादी केन्द्रको कोटाबाट मुख्यमन्त्री बनेका थिए। आइतबार अविश्वासको प्रस्ताव पेश गर्नेमा १५ जना पूर्वएमाले र ३ जना पूर्वमाओवादी केन्द्रका सांसद छन्।
ओली–दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा लामो समयदेखि छलफल चल्दै आएपनि कुनै टुंगो लागेको छैन। यहीबेला कर्णालीका मुख्यमन्त्रीविरुद्ध आफ्नै सांसदले अविश्वासको प्रस्ताव पेश गरेपछि नेकपाका थप संकट चुलिएको छ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपाका ३३ सांसद छन्। तीमध्ये पूर्वएमालेका २० र पूर्वमाओवादीका १३ जना रहेका छन्।