काभ्रेका दुई गाउँपालिका दुर्गमको सूचीमा
काभ्रेपलाञ्चोकको विकट क्षेत्र डाँडापारिस्थित् महाभारत र कोशिपारिको चौंरीदेउराली गाउँपालिका दुर्गम क्षेत्रको सूचीमा सूचीकृत भएका छन्।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ११ असोजमा पारित गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७७’ मा यहाँका ती दुई गाउँपालिकालाई समावेश भएका छन्।
दुई गाउँपालिका दुर्गम क्षेत्रको सूचीमा परेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए। अब ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धारको लागि लाग्ने खर्च मन्त्रालयले व्यहोर्ने भएको उनले बताए।
संघीय राजधानीसँग जोडिएको जिल्ला भएपनि ती क्षेत्रमा अझै पनि यातायातको सहज पहुँच छैन। ५–६ घण्टासम्मको यात्रा गरी जिल्ला सदरमुकाम आइपुग्नु पर्ने अवस्था रहेको छ।
अति दुर्गम क्षेत्र भएकै कारण दुई वर्षअघि पालिकाको वडा नं ७ का दुई गर्भवतीको समयमा उपचार नपाएर ज्यान गएको तथा गएको साउन महीनामा मात्रै सोही वडाका अर्का गर्भवतीको एक लाख भन्दा बढी खर्च गरेर हेलिकप्टरमार्फत् उद्धार गरिएको थियो।