'काठमाडौंले थप कोरोना संक्रमित धान्न सक्दैन, बन्दाबन्दी गर्ने विषय सर्वसाधारणको क्रियाकलापमा भरपर्छ'
सरकारले काठमाडौं उपत्यकाले थप कोरोना संक्रमित धान्न नसक्ने र आम सर्वसाधारण नागरिकको क्रियाकलापले बन्दाबन्दी गर्ने वा नगर्ने निर्धारण हुने बताएको छ।
सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आइतबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै काठमाडौंले थप कोरोना संक्रमित धान्न नसक्ने बताएका हुन्। ज्ञवालीले कोरोना नियन्त्रणमा काठमाडौं चुकेको उल्लेख गर्दै भयाभह अवस्था आउन सक्ने चेतावनी दिए।
अरु हरेक मोर्चामा अघि देखिने काठमाडौँमा कोरोनाविरुद्धको लडाइँमा भने पछि परेको उनको भनाइ थियो।
"काठमाडौं धेरै हिसाबले देशलाई नमूना दिने, दृष्टान्त प्रस्तुत राजधानी शहर हो। हरेक राजनीतिक परिवर्तनमा सामाजिक पविर्तनहरुमा यसले त्यही भूमिका खेलेकोछ। तर महामारीविरुद्धको लडाईंमा काठमाडौं पछाडि परेको छ", ज्ञवालीले भने।
पछिल्ला दिनमा देशभर देखिएको कोरोना संक्रमितको ६० प्रतिशत हिस्सा उपत्यकामा मात्रै देखिएको र यसै कारण अब कोरोना संक्रमितको उपचार गर्न कठिन पर्दै जाने उनको भनाइ थियो।
६० प्रतिशत संक्रमित काठमाडौँमा र क्रिटिकल केयर चाहिने अवस्थाका संक्रमित पनि यहीँ भएको उनले बताए। अहिलेको स्वास्थ्य सामर्थ्यले यो अवस्थालाई धान्न नसक्ने ज्ञवालीको भनाइ छ। उपत्यका बाहिरका जिल्लामा कोरोना नियन्त्रण प्रभावकारी भए पनि काठमाडौँमा हुन नसकेका उनको भनाइ छ।
महामारी नियन्त्रणका लागि नागरिक तहबाटै सचेतता अपनाउनु पर्ने भन्दै ज्ञवालीले १० लाख ५० हजार भन्दा बढीको ज्यान जाने रोग सामान्य नभएको बताए।
उनले चाडवाडसमेत होसियारी पूर्वक मनाउन सरकारका तर्फबाट आह्वान गर्दै विगतका वर्षमा जस्तो उल्लासका साथ चाड मनाउने अवस्था अहिले नरहेको बताए।