चोरीको आरोपमा दलितमाथि निर्घात कुटपिट
महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ४ रामनगरविर्तामा चोरीको आरोपमा मुसहर बस्तीका दुईजनालाई सामूहिक रूपमा निर्घात कुटपिट भएको छ। कुटपिटबाट रामनगरविर्ताका मल्हु सदा र विन्दु सदा गम्भीर घाइते भएका छन्।
स्थानीय दिनेशकुमार महतोको घरबाट सुन हराएपछि दुवैजना सदामाथि चोरीको आरोप लगाउँदै कुटपिट भएको हो। चोरीको आरोप लगाएर दुवै जनालाई उनीहरूको घरबाट थुतेर महतोले आफ्नै घरमा कुटपिट गरेको पीडितले बताएका छन्।
“खेतमा माछा मार्न गएका उनीहरूले त्यहीँ माछा पोलेर खाए। सोही ठाउँमा उनीहरूले लुगा बिर्सेर घर गएका रहेछन्। पछि महतो परिवारले उक्त लुगाबारे सोधपुछ गर्दा हाम्रो लुगा हो भनेपछि छलफलका लागि भनि बोलाएर कुटपिट गरेका रहेछन्”, भंगहा नगरपालिका प्रहरी कार्यालयका सई तेजबहादुर श्रेष्ठले हिमालखबरलाई भने। उनले पीडितहरूलाई धेरै चोटपटक लागेकाले अहिले उपचारका लागि छोडेको र उपचार सकिएपछि छलफलका लागि बोलाउने निर्णय भएको बताए।
पीडितलाई उपचारका लागि भंगहाको एउटा निजी मेडिकलले जनकपुरको प्रदेश अस्पतालमा रिफर गरेको थियो। तर प्रदेश अस्पतालले त्यहाँ भर्ना गर्न नमानेपछि सामान्य औषधी किनेर ल्याएर महतोले पीडितलाई घरमा छोडिदिएका थिए। त्यसपछि उनको स्वास्थ्य जटिल बनेको पीडितका आफन्त जुगल सदाले हिमालखबरलाई बताए।