जसले वन्यजन्तुको आक्रमणमा श्रीमान् गुमाए
वन्यजन्तुको आक्रमणमा परी श्रीमान् गुमाएका बर्दियाका एकल महिलाहरूले एक–आपसमा सुख–दुःख साट्ने गरी समूह बनाएका छन्। जीवनसाथीको ज्यान लिने वन्यजन्तुप्रति उनीहरू नकारात्मक भने छैनन्।
२८ असोज २०६६ को रात, ओमप्रसाद जैसी मस्त निद्रामा थिए। गाउँलेको होहल्लाले ब्यूँझिए। काट्न ठिक्क बेला भएको धानबालीमा जंगली हात्ती पसेको रहेछ।
टर्च बालेर टाढैबाट हेर्दा उनको धान खेतमा हात्ती थियो। उनी खेततिर जान तम्सिए। श्रीमती अमृताले अँध्यारोमा नजान भन्दै थिइन्, उनी चिच्याउँदै हात्ती लखेट्न कुदे। त्यसपछि ओमप्रसाद फर्किएर आएनन्।
“हात्ती आयो भन्ने हल्ला चल्यो, नजानुस् भनेर रोक्दारोक्दै जानुभयो। पश्चिमतिरबाट आएको हात्तीले श्रीमान्लाई आक्रमण गरेर मारिदियो”, अमृता सम्झिन्छिन्।
अमृताको घर बर्दियाको ठाकुरद्वारा नगरपालिका-९ स्थित शिवपुरमा रहेको हात्तीसार नजिकै पर्छ। उनको घरभन्दा पश्चिममा गेरुवा नदीसँगै निकुञ्ज शुरु हुन्छ। जब अन्नबाली भित्र्याउने समय हुन्छ, सधैं जंगली हात्ती आएर सोत्तर पार्छ।
खेतबारीमा आएर अन्नबाली खाने त सामान्य नै भयो। घर नै भत्काइदिन्छ। हात्तीले भत्काएपछि दुई महीना अघि बनाएको अमृताको घर १८ असोजको राति फेरि हात्तीले भत्काइदियो।
उनी भन्छिन्, “हात्तीले बस्नै नसक्ने भइयो, छोडेर पनि कहाँ जाने। बसिरहेको ठाउँको माया लाग्दो रहेछ।”
हात्तीको आक्रमणबाट ओमप्रसादको मृत्यु भएपछि उनका चार दाजुभाइ त्यहाँबाट अन्यत्र बसाइँ सरिसके। अमृता भने ठाउँको मायाले रोकिरहेको बताउँछिन्।
बर्दियामा वन्यजन्तुको आक्रमणबाट श्रीमान् गुमाउने अमृता एक्ली होइनन्। राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बर्दियाका अनुसार, २०५६ सालदेखि हालसम्म बर्दियामा वन्यजन्तुको आक्रमणबाट श्रीमान् गुमाउने महिलाको संख्या २८ छ। त्यसमध्ये २० जना हात्तीको आक्रमणमा मारिएका हुन्। गैंडाको आक्रमणबाट दुई जना, बाघको आक्रमणले दुई र भालु, बदेल र चितुवाको आक्रमणमा परी एक/एक जनाको मृत्यु भएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बर्दियाका अनुसार, २०५६ सालदेखि हालसम्म बर्दियामा वन्यजन्तुको आक्रमणबाट श्रीमान् गुमाउने महिलाको संख्या २८ छ। त्यसमध्ये २० जना हात्तीको आक्रमणमा मारिएका हुन्। गैंडाको आक्रमणबाट दुई जना, बाघको आक्रमणले दुई र भालु, बदेल र चितुवाको आक्रमणमा परी एक/एक जनाको मृत्यु भएको छ।
ठाकुरबाबा नगरपालिका–९ का हरिराम थारु घरको लागि काठ लिन जंगल गएको बेला बाघको आक्रमणमा परेर मारिए। ५ वैशाख २०५६ मा घर नजिकैको सामुदायिक वनमा काठ ल्याउन गएका उनलाई बाघले आक्रमण गरेको थियो।
वन्यजन्तुको आक्रमणबाट मात्र होइन, पालेकै ठूला जनावरको आक्रमणमा श्रीमान् गुमाने महिलाहरू पनि बर्दियामा छन्। त्यसमध्येकी एक हुन्, जानकी थारु। उनका श्रीमान् छोटकी थारु बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा करार सेवामा माहुतको काम गर्थे। हात्तीलाई जंगलमा चराउन लैजाने, घाँस काट्ने माहुतको दैनिकी हुन्छ। त्यही क्रममा आफैले हेर्दै आएको हात्तीले आक्रमण गर्दा १० वैशाख २०७१ मा उनको मृत्यु भयो।
जानकीका अनुसार, जंगलमा घाँस काट्न गएको बेला लोड गर्ने क्रममा हात्तीले उनलाई मारेको थियो। घरमै कृषि कर्म गरेर बसेका छोटकीले माहुतमा नाम निकालेका थिए। जानकीले आफूलाई पहिलादेखि नै माहुतको काम मन नपर्ने र श्रीमानलाई त्यस्तो जागिर नखान भन्दा पनि नमानेको सम्झिन्छिन्।
उनी भन्छिन्, “मैले सम्झाउँदा उहाँले ‘दुनियाँले गरेका छन्, घरमा यत्तिकै बस्नुभन्दा रोजगारी हुन्छ’ भनेर काम शुरु गर्नुभएको थियो।”
पीडा भुलाउने बाटो
वन्यजन्तुको आक्रमणमा श्रीमान् गुमाएका महिलाहरू संगठित हुन थालेका छन्। उनीहरूले वन्यजन्तु पीडित एकल महिला समूह बनाएका छन्। समूहकी अध्यक्ष अमृता जैसी आचार्य समूह गठन गर्नुको उद्देश्यबारे भन्छिन् “दिदीबहिनी भेट भएर एक–आपसमा दुःख–सुख साट्न समूह बनाएका हौं, यसले पीडा भुलाउन निकै मद्दत हुँदो रहेछ।”
वन्यजन्तुबाट श्रीमान् गुमाए पनि उनीहरू वन्यजन्तुप्रति नकारात्मक छैनन्। बरु, वन्यजन्तुको संरक्षणकै पक्षमा उभिन्छन्। “वन्यजन्तुका कारण मेरा बालबच्चा टुहुरा भए पनि मनमा यिनीहरूप्रति सकारात्मक भावना नै आउँछ”, अमृता भन्छिन्।
अमृताका छोरा हेमन्त आचार्य ९ वर्षदेखि संरक्षण अभियानमै सक्रिय छन्। उनी चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका संयोजक हुन्। अभियानको उद्देश्य वन्यजन्तुको चोरी शिकार रोक्नु र यस काममा युवाहरूलाई संगठित र परिचालन गर्नु हो।
वन्यजन्तुको आक्रमणबाट श्रीमान् गुमाएका महिलाहरूलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले मासिक रु. १ हजार ५०० निर्वाह भत्ता उपलब्ध गराउँदै आएको छ। उक्त भत्ता निकै कम भएको पीडित महिलाहरूको गुनासो छ।