मुख्यमन्त्रीसमेत रहेका कर्णाली प्रदेशको नेकपा संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव
कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलका नेता महेन्द्रबहादुृर शाहीविरुद्ध अविश्वास प्रस्ताव आएको छ। कर्णाली प्रदेशमा रहेका नेकपाका ३३ जना सांसदमध्ये दलका १८ जनाले दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव बुझाएका हुन् ।
तत्कालीन माओवादी पक्षका शाही विरुद्ध तत्कालीन एमाले पक्षका सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले हस्ताक्षर गरी संसदीय दलका नेता गुलावजंग शाहलाई बुझाएका छन्। हस्ताक्षर गर्नेमा पूर्व माओवादी पक्षका ५ जना सांसद रहेका छन् भने १३ जना पूर्व एमाले पक्षका रहेका छन्।
अब संसदीय दलमा बाँकी रहेकामध्ये पूर्व एमालेका ५ जना र पूर्व माओवादीका १० जना छन्। पूर्व एमालेमध्येका एक जना सांसद राजबहादुर शाही भने प्रदेश सभामुख हुन्।
अविश्वास पत्रमा सरकार र पार्टी संसदीय दलको नेता एकै व्यक्ति हुँदा दैननदिन् हुने काममा असर परेकाले कामको प्रभावकारीतामा आफूलाई विश्वास नभएको उल्लेख गरिएको छ।
"पार्टी सरकार र संसदीय दलको नेता एकै व्यक्ति हुँदा सरकार र पार्टीले गर्ने काम कारवाही प्रभावकारी नभएकाले अविश्वासको प्रस्ता ल्याएका हौं", पूर्व एमाले पक्षका सांसद करवीर शाहीले हिमालखबरलाई बताए। उनले यही कारण जनताका समस्या समाधान गर्न नसकिएको र पार्टी अलोकप्रिय हुँदै गएकाले यो कदम चालेको बताए।