कोरोनाभाइरस संक्रमणका कारण विदेशमा थप १७ नेपालीको ज्यान गयो
विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड-१९) संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ। गैरआवासीय नेपाली संघका अनुसार शनिबार साँझसम्म युएईमा १ र साउदी अरबमा १६ जना थप नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले विगत ९ महीनामा नेपाल बाहेक १८ देशमा २८१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको बताएका छन्।
संघका अनुसार गत साता बेल्जियम, स्पेन, नेदरल्याण्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ।
गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझ सम्म ४२ देशका ४० हजार ७३५ नेपाली कोरोना संक्रमित भएका छन्। तीमध्ये ३६ हजार ६७३ जना नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन्। संक्रमित नेपालीमध्ये ८९ प्रतिशत कोरोनामुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ।
यस्तै, नेपालमा मात्र १ लाख ५ हजार ६८४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने तीमध्ये ७४ हजार २५२ जना कोरोना मुक्त भएका छन। यो कुल संक्रमितको ७० दशमलव ३ प्रतिशत हो। हालसम्म नेपालमा ६१४ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ।
कोरोना महामारी नियन्त्रणको नेतृत्व विज्ञलाई दिन सुझाव
गैरआवासीय नेपाली संघको जारी दोस्रो विज्ञ सम्मेलनमा बोल्ने वक्ताहरुले सरकारले समयमा गम्भीर नहुदाँ कोरोना संक्रमणमा वृद्धि भएको विचार व्यक्त गरेका छन्।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वशिक्षामन्त्री गंगालाल तुलाधारले कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसकेको टिप्पणी गरेका छन्।
‘“सरकार होपलेस देखियो। पूर्वतयारी र न्यूनीकरणको कामै भएन। सरकारसँग स्रोत पनि केही पनि छैन भन्नुपर्ने भो,” संघद्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा तुलाधारले भने ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले काठमाडौंमा आईसीयू बेड पाउन नसकिने अवस्था आइलागेको बताउँदै विपद् तथा महामारीविरुद्ध स्थायी संरचना तथा पर्याप्त कानून रहे पनि राजनीतिक नेतृत्वमा बुझाइको कमी रहेको बताए।
विपदको बेला राजनीतिक नेतृत्वले नियमितभन्दा बाहिरको स्रोत परिचालन गर्नसने भए पनि सरकार यो विषयमा चुकेको थापाले टिप्पणी गरे। पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्माले राजनीतिक नेतृत्वले महामारी नियन्त्रणको नेतृत्व लिँदा सफल नभएको बताइन्।