भक्तपुरका तीन गेष्ट हाउसबाट १४ जना महिला-पुरुष पक्राउ
प्रहरीले भक्तपुरका तीन गेष्ट हाउसबाट सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ। ‘अमर्यादित क्रियाकलाप’ गरेको आरोपमा ठिमी क्षेत्रका तीन वटा गेष्ट हाउसबाट सञ्चालसहित १४ जनालाई शनिबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख, प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलका अनुसार पक्राउ पर्नेमा सात महिला र सात पुरुष छन्। प्रहरीले सुनकोशी गेष्ट हाउस, सनसाइन गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा छापा मारेको थियो।
सुनकोशी गेष्ट हाउसबाट सञ्चालक धनुषाको धारापानी घर भएका २० वर्षीय पुरुष, मध्यपुर ठिमी नगरपालिका–७ बस्ने ३० वर्षीय पुरुष र दोलखाको भिमेश्वर–४ घर भै हाल नयाँठिमी बस्ने २० वर्षीया महिला पक्राउ परेका डीएसपी कँडेलले बताए।
यसैगरी, सनसाइन गेष्ट हाउसका सञ्चालक रामेछापको उमाकुण्ड–२ घर भइ कौशलटार बस्ने ३८ वर्षीय पुरुष, दाङको राजपुर घर भई ललितपुरको बालकुमारी बस्ने २४ वर्षीया महिला, मोरङको केराउन–४ घर भई हाल भक्तपुरको कमलबिनायक बस्ने ३५ वर्षीया महिला, भक्तपुरको चाँगुनारायण–७ का ४७ वर्षीय पुरुष र भोजपुरको षडानन्द–११ घर भई हाल नयाँठिमी बस्ने २३ वर्षीय पुरुष पक्राउ परेका छन् ।
बालकुमारी गेष्ट हाउसका सञ्चालक कालिकोटको नरनाथ–५ घर भई हाल नयाँठिमी बस्ने २४ वर्षीय पुरुष, सिन्धुलीको गैरीगाउँ–४ घर भई हाल नयाँठिमी बस्ने ३२ वर्षीया महिला, काभ्रेको रोशी–२ घर भई हाल नयाँठिमी बस्ने २३ वर्षीया महिला, सिन्धुलीको भिमान–२ घर भई जोरपाटी बस्ने २४ वर्षीया महिला, सुनसरीको धरान घर भई हाल लुभु बस्ने २२ वर्षीया महिला र मकवानपुरको कैलास गाउँपालिका–२ घर भई हाल नयाँठिमी बस्ने २७ वर्षीय पुरुष पक्राउ परेका छन्।
रू. एक लाख नगदसहित चार जुवाडे पक्राउ
यसैबीच, ठिमी प्रहरीले एक लाख रूपैयाँ नगदसहित चार जना जुवाडेलाई पक्राउ गरेको छ।
सूर्यविनायक नगरपालिका–१ स्थित् विष्णुप्रसाद घिमिरेको घरमा श्याम थापाले सञ्चालन गरेको चिया पसलबाट उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–१ का ५२ वर्षीय राजेन्द्रकुमार थापा, सोही ठाउँका ४८ वर्षीय मनोज बानियाँ, ३० वर्षीय विश्व न्यौपाने र खोटाङको खोटेहाङ गाउँपालिका–१ घर भइ हाल सिरुटार बस्ने ४० वर्षीय नगेन्द्र राई छन्।
डीएसपी कँडेलका अनुसार तासको खालबाट रू. ७६ हजार ८०० र व्यक्तिबाट रू. ३२ हजार ५०० बरादम गरिएको छ।