आईसीयू वेडको खोजीमा भौतारिंदै कोरोना संक्रमित
अहिले काठमाडौंमा कोरोना संक्रमितको उपचार गर्ने सबै अस्पताल भरिएका छन्। यसैकारण कोरोना संक्रमितले आवश्यक उपचार सेवा पाउन सकेका छैनन्, भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितलाई दिनु पर्ने आवश्यक परामपर्श सेवा प्रभावकारी बनाउन सकेको छैन।
२१ असोजमा कोरोना परिक्षण गराएका काठमाडौंको रातोपुल–७ निवासी ३३ वर्षिय एक पुरुषलाई २२ असोजमा कोरोना संक्रमण पुष्टि भयो। २३ असोजमा उनले अनलाइनमार्फत परामर्श सेवा दिने डिल्ली बजारको डाँफे केयरको सम्पर्कमा पुगे।
उपत्यकाका अस्पतालहरू बिरामीले भरिएर खाली नभएको जानकारी पाएका ती व्यक्ति कोरोना संक्रमित भएपछि निजीस्तरबाट सञ्चालित अनलाइनमार्फत परामर्श सेवा दिने डाँफे केयरको सम्पर्कमा पुगे।
२३ असोजमा डाँफे केयरको सम्पर्कमा पुगेका उनलाई त्यहाँ कार्यरत चिकित्सकहरूले के कस्तो स्वास्थ्य समस्या देखिएको छ, भनेर सोधे। त्यसै क्रममा ती संक्रमित व्यक्तिको ओठ निलो भएको थाहा भयो। तर उनमा कोरोनासम्बन्धी अन्य कुनै जटिल लक्षणहरू भने देखिएका थिएनन्।
चिकित्सकको परामर्शमा ती संक्रमित व्यक्तिले आफ्नो शरीरमा अक्सिजनको मात्रा जाँच गरे। जाँचबाट उनको शरीरमा अक्सिजनको मात्रा (अक्सिजन स्याचुरेसन) ८५ सम्म रहेको पत्ता लाग्यो। डाँफे केयरका चिकित्सकहरूले उनको यो रिपोर्टका आधार निकै खतरनाक अवस्था भएको जानकारी गराए। यस्तो समस्या भएका कोरोना संक्रमितलाई अक्सिजन दिएर उपचार गर्नुपर्ने हुन्छ।
त्यसै क्रममा डाँफे केयरका मेडिकल कोओर्डीनेटर डा. सुयश तिमल्सिनाले शुक्रबार साँझ ६ बजदेखि ती संक्रमित व्यक्ति अक्सिजनसहितको आईसीयू वेडको खोजी गर्न थाले। तर, सम्पर्क गरे जतिका अस्पतालमा डा. तिमल्सिनाले आईसीयू वेड खाली नभएको जानकारी पाएको बताए।
डाँफे केयरका चिकित्सकहरूले उपत्यकाका ह्याम्स, मेडिसिटी, वीर, काठमाडौ मेडिकल कलेज तथा शिक्षण अस्पताल, ओम, सशस्त्र प्रहरी, बयोधा, र स्टार अस्पतालमा फोन सम्पर्क गर्दा कुनै पनि अस्पतालमा आईसीयू वेड खाली नभएको जानकारी पाए। डा. तिमल्सिना उपत्यकाका प्रमुख अस्पतालमा आईसीयू वेड नपाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाइनमा सम्पर्क गरेको र निकै लामो प्रयासपछि मात्रा मन्त्रालयको फोन उठेको बताए।
उनले भने, “धेरै पटकको प्रयासपछि मन्त्रालयको हटलाइनमार्फत मोहन परियारले फोन उठाए। उनले पनि सबै अस्पतालमा आईसीयू वेड खाली भएको जानकारी गराए।” अन्ततः ती संक्रमितको उपचारका लागि आईसीयू वेड नपाएपछि डा. तिमल्सिना लगायतको चिकित्सकहरूको टोलीले उनलाई सर्वाङ्ग अस्पतालमा आईसीयू बिनाको सामान्य अबजर्भेसन वेडमार्फत अक्सिजन दिएर उपचार गर्ने व्यवस्था मिलाए।
अहिले ती ३३ वर्षिया पुरुष संक्रमितको अर्वागं अस्पतालमार्फत उपचार भइरहेको छ। डा. तिमल्सिनाले स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने तथ्यांकमार्फत उपत्यकाका अस्पतालमा आईसीयू वेड खाली भएको झुटो तथ्यांक सार्वजनिक गर्नु विडम्बनापूर्ण कुरा भएको बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २३ असोजमा उपत्यकाका अस्पतालमा ६७ आईसीयू र ३६ भेन्टिलेटर खाली भएको विवरण सार्वजनिक गरेको थियो। जबकी त्यसै दिन काठमाडौंको रातोपुलका कोरोना संक्रमितले अस्पतालहरूमा आईसीयू वेडको अभाव भएको भन्दै उपचार सेवा पाउन सकेनन्।
मन्त्रालयले २४ असोजमा सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकभर ३२१ संक्रमित आईसीयू र ७७ संक्रमित भेन्टिलेटरमार्फत उपचाररत छन्। तर मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्यांकमा उपत्यकामा खाली भएका आईसीयू वेड र भेन्टिलेरको विवरण सार्वजनिक गरेको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिवारसम्ममा मुलुकभर कोरोना संक्रमित हुनेहरूको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ। यीमध्ये पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ८ संक्रमित थपिएका छन्। २४ असोजसम्ममा मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ र मृत्यु हुनेको संख्या ६१४ पुगेको छ।